अमेरिका-चीन व्यापार वार्ता पुनः सुरू, ट्रम्पले दिए सकारात्मक सन्देश

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर नीतिपछि उत्पन्न व्यापार तनाव न्यूनीकरण गर्न अमेरिका र चीनका उच्च अधिकारीबीच जेनेभामा व्यापार वार्ता पुनः सुरु भएको छ। वार्ताको पहिलो चरण ‘रचनात्मक’ भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमार्फत सकारात्मक संकेत दिएका छन्।
स्विस समाचार एजेन्सी किस्टोन-एटिएसका अनुसार आइतबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच दोस्रो दिनको वार्ता बिहान १० बजेपछि बन्द कोठामा सुरु भयो। वार्तास्थल जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्विस राजदूतको निवास हो।
शनिबारको पहिलो बैठकपछि ट्रम्पले ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै वार्तालाई ‘मैत्रीपूर्ण तर पूर्ण रूपमा रचनात्मक’ भनेर टिप्पणी गरेका थिए। चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि यस वार्तालाई ‘मुद्दाको समाधानतर्फको महत्वपूर्ण कदम’ भनेको छ।
ट्रम्प प्रशासनले चीनमाथि लगाएका उच्च दरका करले दुई देशबीचको व्यापार युद्ध चर्किएको थियो। हाल ट्रम्पले चिनियाँ सामानमा कर १४५ प्रतिशतसम्म पुर्यापएका छन् भने केही वस्तुमा त २४५ प्रतिशत कर लागू गरिएको छ। जवाफस्वरूप चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स न्यूजसँग कुरा गर्दै ट्रम्प चीनसँग मिलेर काम गर्न इच्छुक रहेको र तनाव कम गर्न चाहेको बताएका छन्।
तर ट्रम्पकी प्रेस सचिव कारोलिन लिभिटले भने वार्ताको क्रममा अमेरिका एकतर्फी रुपमा कर घटाउने पक्षमा नरहेको र चीनले पनि समकक्षीय सहुलियत दिनुपर्ने धारणा राखिन्।
वैशाख २८, २०८२ आइतबार १८:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।