जनताको चाहना अनुसार संविधान परिमार्जन गर्नु आजको आवश्यकता हो : प्रचण्ड

जनताको चाहना अनुसार संविधान परिमार्जन गर्नु आजको आवश्यकता हो : प्रचण्ड

धरान : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानलाई जनताको चाहनाअनुसार परिमार्जन गर्नु आजको आवश्यकता भएको बताए।

किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालद्वारा आयोजित संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संविधानलाई परिवर्तन होइन, सुधार गर्न सकिने दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे।

‘संविधान समयसापेक्ष रूपमा जनताको आवश्यकता अनुसार संशोधन गर्न जरुरी छ,’ प्रचण्डले भने,‘समावेशिता, प्रतिनिधित्व र समानताको पक्षमा माओवादीले खेलेको भूमिका सबैलाई थाहा छ। अब जहाँ कमजोरी छन्, त्यहाँ संशोधन गर्दै अघि बढ्नुपर्छ।’ 

संविधान निर्माणदेखि सङ्घीय संरचना निर्माणसम्म माओवादीको सक्रिय भूमिका रहेको उल्लेख गर्दै उनले वर्गीय र जातीय उत्पीडन अन्त्यतर्फको यात्रा अहिले पनि अधुरो रहेको बताए। ‘हामी वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि न केवल संघर्ष गर्यौँ , त्यो आन्दोलनलाई शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न पनि निरन्तर लागिपरेका छौँ,’ प्रचण्डले स्पष्ट पारे।

उनले संविधानको रक्षा, लोकतन्त्रको मजबुती, र आर्थिक समृद्धिको दिशामा अघि बढ्न कृषिजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए।

वैशाख २८, २०८२ आइतबार १८:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।