सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा विद्युतीय गाडी

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा विद्युतीय गाडी

काठमाडौं : नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोग स्वरूप भारतले १५ वटा विद्युतीय सवारीसाधन दिएको छ।

आज परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सवारीसाधन हस्तान्तरण गरे। सहयोग नेपाल-भारत सहयोग कार्यक्रम अन्तर्गत गरिएको हो।

मन्त्री डा. राणाले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै, जलवायु परिवर्तन नेपाल मात्र नभई सम्पूर्ण क्षेत्रकै साझा चुनौती भएको बताइन्। ‘यस समस्याको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अनिवार्य छ,’ उनले भनिन्।
उनका अनुसार सगरमाथा संवाद जलवायु परिवर्तनसम्बन्धी साझा समस्या उजागर गर्ने र समाधानका उपायमा सामूहिक मोडेल तयार गर्ने एउटा अवसर हो। 

संवादको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री राणाले अब सरकार विदेशी उच्चपदस्थ पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताइन्।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल-भारत सम्बन्धको गहिरो ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै जलवायु चुनौतीको सामना गर्न भारत सदैव नेपालको सहयात्री बन्ने प्रतिबद्धता जनाए।

‘सगरमाथा संवादजस्ता क्षेत्रीय प्रयासहरूमा भारत सरकारको सहकार्य जारी रहनेछ, र जलवायु समाधानका उपायहरूमा हामी नेपालसँग मिलेर अघि बढ्न तत्पर छौं,’ उनले भने।

वैशाख २८, २०८२ आइतबार १८:०६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।