सरकारले पूर्वतयारी नभएका योजनामा बजेट नहाल्ने

सरकारले पूर्वतयारी नभएका योजनामा बजेट नहाल्ने

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पूर्वतयारी पूरा भएका र प्रतिफलमुखी आयोजनामा मात्र केन्द्रित हुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सरकारले बजेटको प्रभावकारिता बढाउने र अघिल्ला वर्षमा देखिएका अनियमितता अन्त्य गर्ने नीति लिएको बताए।

‘झाङ्गिँदै आएका विकृति र विसङ्गति अन्त्य गर्दै, पूर्वतयारी र लगानी ढाँचा तय भएका योजनामा मात्रै पुँजीगत बजेट विनियोजन गरिन्छ,’ पौडेलले भने, ‘राष्ट्रिय प्राथमिकता अनुसार उच्च प्रतिफल दिने परियोजनामा सार्वजनिक ऋणको प्रयोग गरिनेछ र त्यसको दीगोता सुनिश्चित गरिनेछ।’

उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउँदै सार्वजनिक वित्त सन्तुलन कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्थमन्त्रीले संघ, प्रदेश र स्थानीय तहसँगै सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रबीच सुदृढ समन्वय र सहकार्यको आवश्यकताको पनि चर्चा गरे।

निजी क्षेत्रको समग्र विकासका लागि कानूनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिने बताए। ‘लगानीमैत्री वातावरण बनाउने गरी एकद्वार सेवा प्रणाली प्रभावकारी बनाइनेछ,’ उनले भने।

उनका अनुसार जग्गाको हदबन्दी, वन क्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका अवरोधहरूको समाधान पनि सरकारको प्राथमिकतामा पर्छ। आगामी बजेटको सिद्धान्तमा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई लक्षित वर्गमुखी र समन्यायिक बनाउने योजना उल्लेख छ।

वैशाख २८, २०८२ आइतबार १७:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।