सेयर बजार ओरालोमै, कारोबार रकम पनि अर्ब बराबर घट्यो

सेयर बजार ओरालोमै, कारोबार रकम पनि अर्ब बराबर घट्यो

काठमाडौं : वैशाखको अन्तिम साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अङ्कको घट्दा कारोबार रकम भने बढेको छ।  नेप्से परिसूचक ११.५३ अङ्क घटेर २६५०.११ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.५७ अङ्क घटेको छ। फ्लोट इन्डेक्स ०.७९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६१ अङ्क घटेको छ।

आइतबारको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घट्यो। कुल ३ सय धितोपत्रको ८८ हजार ९ सय ५५ कारोबारबाट २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भयो। आइतबार १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो। गत साताको बुधवार साढे ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

आइतबार होटेल र पर्यटन उपसूचकमा सकारात्मक प्रभाव देखिए पनि अन्य उपसूचकमा त्यसको प्रभाव परेन। होटेल र पर्यटनमा ६.५० प्रतिशतको वृद्धि देखियो। विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसूचक बढे पनि अन्य उपसूचकहरू भने ओरालो नै लाग्यो।

आइतबारको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य धेरै बढ्यो।

सिन्धु विकास बैंकको सबैभन्दा धेरै घट्यो। यसको मूल्य ६.४५ प्रतिशतले घटेर ८ सय २५ रुपैयाँ कायम भयो। गुह्येश्वरी मर्चेन्ट, सिनर्जी पावर, एचआईडीसीएल सहित धितोपत्रको मूल्य घटे। राधी विद्युत् कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो।

वैशाख २८, २०८२ आइतबार १६:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।