आरोही छ्योकी शेर्पाको प्रसव पीडा र खुसी : मलाई हिमाल चढ्नु र बच्चा जन्माउनु उस्तै लाग्यो, गाह्रो भएनि रुन सकिनँ

दोलखाको गौरिशंखर गाउँपालिका-९ को हिमाली काखमा जन्मिएकी छ्योकी शेर्पाको बाल्यकाल चिसो हावा लाग्ने चौरी गोठमै बित्यो। गाउँमा प्राथमिक विद्यालय मात्रै भएकाले अक्षर चिन्न र थप ज्ञान लिनका लागि उनी अर्को गाउँ हुँदै काठमाडौंसम्म आइपुगिन्।
पर्यटन क्षेत्रमा सक्रिय छ्योकी शेर्पा पर्यटन व्यवसाय संघको कार्यकारी सदस्य समेत हुन्। हिमाल र हिमाली जीवनसँगको गहिरो नाताले गर्दा होला, उनले सगरमाथा आधार शिविरमा आरोहण दलको सम्पर्क अधिकृत भएर काम गर्ने विशेष अनुभव बटुलिन्।
जीवनका विभिन्न मोडहरू पार गर्दै, विभिन्न संघसंस्थामा आवद्द भएर सामाजिक कार्यमा पनि सक्रिय रहेकी छ्योकीले एक समय रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पाँच वर्ष बिताइन्। विदेशको बसाइपछि सन् २०१७ मा उनी गाउँ फर्किइन्।
वैदेशिक रोजगारीको थकान मेट्न र जीवनमा केही नयाँ र साहसिक अनुभव लिने हुटहुटीले उनलाई तान्यो। खासै कुनै तालिम नलिइकनै उनी त्यो आरोहणमा सामेल भइन् र सफलतापूर्वक हिमाल चढेर देखाइदिइन्।
पहिलो आरोहणको सफलताले उनमा हिमाल चढ्ने भोक झनै बढायो। अब उनको सपना सगरमाथा नै चुम्ने बन्यो। दृढ संकल्पका साथ उनले सन् २०१८ मै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन्। यति मात्र होइन, आरोहणका लागि संसारकै जोखिमपूर्ण मानिने आमादब्लम शिखरलाई पनि उनले चुमिसकेकी छिन्।
सगरमाथा र आमादब्लम जस्ता विशाल शिखरहरूको सफल आरोहणपछि उनी विभिन्न परियोजनाहरूमा रहेर काम गरिन्। तर, विश्वव्यापी कोभिड महामारीले जीवनलाई केही समय रोकिदियो। यही समयमा छ्योकीले विवाह गरिन् र सन्तानको योजना बनाइन्।
अहिले सगरमाथाको चिसो चुचुरोमा पाइला टेकेको र जोखिमपूर्ण शिखरहरू चढेको अनुभवलाई एकातिर राखेर उनको अधिकांश समय भने मातृत्वको न्यानो काखमा सन्तानको हेरचाह र लालनपालनमै बितिरहेको छ।
चौरी गोठदेखि हिमालको शिखर र अहिले मातृत्वको न्यानोपनसम्मको अविश्वसनीय यात्रा गरेकी छ्योकी शेर्पाले उकेराको नियमित स्तम्भमा आफ्ना मातृत्व अनुभव यसरी साटेकी छन्:
०००
हाम्रो गाउँ २५ सय मिटरभन्दा माथि थियो। झनै माथि, करिब ३५ सय मिटरसम्म त हाम्रा चौरी र याकका गोठहरू थिए, जहाँ मेरो अधिकांश बाल्यकाल बित्यो। हामी पाँच सन्तान थियौँ- तीन छोरी र दुई दाजुभाइ। पहिला दाइ जन्मिँदा हजुरआमा हजुरबुवालाई अर्को नाति चाहिएकोले हामी दिदीबहिनी जन्मिएका रे, यो कुरा हामीले पछि उहाँहरूले नै भन्नुभएको।
हिमाली जीवनमा बुवा र आमा चौरीपालन व्यवसायमा व्यस्त हुनुहुन्थ्यो। गाउँ उचाइमा भएकाले होला, पढाइ पनि ढिला सुरू भयो। प्राथमिक शिक्षापछि छोराहरू थप पढ्न बजार झर्थे भने छोरीलाई अक्षर चिने पुग्छ भन्ने चलन थियो। तर, मलाई पढ्ने हुटहुटी थियो। चरिकोटसम्म पुगेर भए पनि एसएलसी पास गरेँ। घरको कामले गर्दा पढाइलाई निरन्तरता दिन निकै गाह्रो भयो, मैले हरेक पाइलामा सङ्घर्ष गर्नुपर्यो।
स्नातक पढ्दै गर्दा साथीहरू ईपीएसको तयारी गर्न थाले। उनीहरूकै देखासिकीमा मैले पनि परीक्षा दिएँ र पास भएँ। त्यसपछि कामको सिलसिलामा दक्षिण कोरिया पुगेँ। कोरियामा रहँदा एउटा कुराले मलाई अचम्मित पार्थ्यो- त्यहाँका मानिसहरू नेपाल भन्दा पनि ‘शेर्पा’ भन्नेबित्तिकै चिन्थे।
उनीहरूको पहिलो प्रश्न हुन्थ्यो, ‘ओहो! तपाईंहरू सगरमाथा आरोहण गर्नुहुन्छ हो?’ मैले ‘छैन’ भन्दा त अचम्म मान्थे। त्यहीँ रहँदा गौतम बुद्ध ‘इन्दो’ (इन्डिया) मा जन्मेका हुन् भन्ने उनीहरूको बुझाइ पनि सच्याउने मौका पाएँ।
कोरियाबाट फर्किएपछि मनमा एउटै कुरा खेलिरह्यो- ‘एक पटक त सगरमाथा आरोहण गर्नैपर्छ!’ संयोगले हाम्रो एउटा टिम पनि बन्यो। त्यस सिजनमा हामी धेरै महिलाहरूले एकैसाथ सगरमाथा आरोहण गरेकोमा गिनिज बुकमा रेकर्ड समेत बन्यो।
कठिन आरोहणमा केही साथीहरूलाई निकै सकस भइरहेको बेला मलाई फटाफट हिमाल चढेको देखेर सबैले हौसला दिए। त्यसपछि लाग्यो, ‘अब विदेश होइन, यही पर्वतारोहण क्षेत्रमै केही गर्नुपर्छ।’ त्यहीअनुसार मैले जोखिमपूर्ण आमादब्लम समेत अन्य हिमालहरू पनि चढेँ।
जीवनको अर्को शिखर: मातृत्व
हिमाल आरोहणकै क्रममा कोभिड १९ को प्रकोपका कारण विश्वव्यापी रूपमा लकडाउन सुरु भयो। त्यतिबेला म २९ वर्ष पुगिसकेकी थिएँ। घरबाट विवाहका लागि खासै दबाब नआए पनि आफैँलाई ‘अब ढिला भइरहेको छ कि!’ भन्ने महसुस भयो। पारिवारिक सल्लाह र अनुमतिमा मेरो विवाह भयो।
उहाँ (पति) को ट्रेकिङ एजेन्सीमा काम गर्नुहुन्छ। उहाँको पनि तीन दाजुभाइ। हाम्रो गाउँमा पहिलादेखि नै हामी तीन दिदीबहिनीमध्ये एक जना भए पनि उहाँहरूको घरमा बुहारीका रूपमा जानुपर्छ भन्ने कुरा चलेको रहेछ, जुन पछि मिल्यो पनि। विवाहलगत्तै लकडाउन भयो। सबै काम ठप्प भएपछि अब के गर्ने भन्ने भयो। त्यही खाली समयमा हामीले सन्तानको तयारी गर्ने निर्णय गर्यौँ।
अहिले बाबु चार वर्षको भयो, स्कुल पनि जान थालिसकेको छ। विवाहपछि पारिवारिक रूपमा कुनै अप्ठ्यारो भएन, तर मनभित्र कताकता एउटा सीमित घेरामा बाँधिएको जस्तो महसुस भयो। अझ सन्तान भएपछि त मनले उसलाई छोडेर कतै जानै नमान्ने रहेछ। मेरो पूरै लकडाउनको समय गर्भवती अवस्थामै बित्यो।
शारीरिक रूपमा म निकै फुर्तिली थिएँ, तर मानसिक रूपमा त्यो बेलाको डरलाग्दो माहोलले अलि प्रभाव पारेको थियो। तैपनि, धेरै तनाव लिनुपरेन किनभने हामी मात्र होइन, सारा संसार नै रोकिएको थियो भन्ने सोचेर चित्त बुझाएँ। जीवनको अर्को महत्वपूर्ण मोडमा थिएँ म।
घरमा नाति/नातिना आउने भयो भनेर निकै खुसीको माहोल थियो। गर्भावस्थामा साथीहरूलाई धेरै गाह्रो भएको अहिले सुन्छु, तर मलाई त्यस्तो केही भएन। त्यसबेला रासन वितरण र राहत कार्यमा पनि सक्रिय भएकाले होला, मेरो कसरत पुगेछ।
नौ महिनासम्म तौल अनियन्त्रित रूपमा बढ्ने वा घट्ने केही भएन। तर, बच्चा भएपछि चैँ म झन् बढी मोटाएकी थिएँ। बाबु जन्मिने समय (ड्यु डेट) कटे पनि मलाई प्रसवका कुनै लक्षण देखिएनन्। सकेसम्म प्राकृतिक रूपमै आमा बन्ने मेरो इच्छा थियो। कपनबाट हेल्पिङ हस्पिटलसम्म म जाँच गराउन सधैँ हिँडेरै जान्थेँ।
त्यो दिन पनि जाँच गराउन जाँदा डाक्टरले ‘अब भर्ना हुनुपर्छ’ भन्नुभयो। त्यो बेला म ३० वर्ष कटिसकेकी थिएँ, र ३० वर्षपछि पहिलो सन्तान जन्माउनुलाई उच्च जोखिम मानिँदो रहेछ। अहिले भए त झोलाको पोको बनाएर तयार हुन्थेँ होला, तर त्यसबेला खासै तयारी थिइनँ।
भर्ना भएको धेरै समयसम्म पनि लक्षण नदेखिएपछि डाक्टरले व्यथा लगाउने औषधि दिनुभयो। त्यसपछि अलिअलि दुखाइ सुरू भयो, तर बच्चा जन्मिनका लागि मैले २२ घण्टासम्म त्यो दुखाइ सहनुपर्यो। अर्को पटक औषधि चढाएपछि मात्र बच्चाको पोजिसन ठीक भयो।
अन्तिममा यति धेरै दुखाइ भयो कि, मलाई हिमाल चढ्नु र बच्चा जन्माउनु उस्तै लाग्यो! हिमाल चढ्दा पनि मर्ने वा बाँच्ने ठेगान हुँदैन, मनमा बेचैनी भइरहन्छ, खाना रुच्दैन र बढी तागत चाहिन्छ। यो सबै अनुभव मैले बच्चा जन्माउने बेला गरेँ। जति नै गाह्रो भए पनि म रुन सकिनँ। हस्पिटलमा त्यसबेला म मात्र थिएँ। पसिना खलखली बगेको थियो। जति नै अप्ठ्यारो होस्, अप्रेशन चैँ गर्दिनँ भन्ने दृढ सङ्कल्पले होला, बल आयो र मैले बाबुलाई प्राकृतिक रूपमै जन्म दिएँ।
‘आमा भएपछि झन् बलियो भएको महसुस गरेँ’
बाबु जन्मिएपछि त म जुरुक्कै उठेर हिँडे। पहिलोपटक बाबुलाई देख्दा सगरमाथा चढेको बेला भन्दा पनि बढी खुसी लागेको थियो। ऊ सुरूमा रोएकै थिएन। समयभन्दा ढिलो जन्मिएकोले त्यसो भएको रहेछ। ढिला जन्मिँदा बच्चाले दिसा खाने वा सालले बेरिने जोखिम हुने रहेछ, तर भाग्यवश उसलाई केही भएन।
उसलाई दूध चुसाएँ, मज्जाले खाएको जस्तो लाग्यो, तर दूधै नआएको रहेछ। त्यसैले ऊ बेस्सरी रोयो। तीन दिनपछि मात्र हामीले उसलाई भोक लागेर रोएको रहेछ भन्ने थाहा पायौँ। अनि फर्मुला दूध खुवाउँदा त उसले हुरुक्कै यति धेरै खायो कि! खाँदाखाँदै निदाउँथ्यो। पहिलोपटक आमा बन्दा धेरै कुरा थाहा नभएको मैले महसुस गरेँ। अहिले पनि ती दिनहरू सम्झिँदा अलि नराम्रो लाग्छ। पछि त स्तनपानमा केही समस्या आएन, मेरो सुत्केरी स्याहार पनि राम्रो भयो।
सन्तान भएपछि बाहिरी कामको लागि म आफैँलाई त्यति धेरै जोश आएन। बाबु छोडेर कहाँ हिमाल चढ्न जानु जस्तो लाग्यो। उसँग समय बिताइरहँदा त हिमालकै वरपर बसिरहेको छु जस्तो लाग्छ। त्यसैले पनि हामीले अर्को सन्तानको बारेमा सोचेका छैनौँ, यद्यपि घरबाट अझै एउटाको बारेमा सोच्न भन्नुभएको थियो।
घरमा मेरो हिमाल चढेको फोटोहरू हेरेर बाबु निकै खुसी हुन्छ। उसलाई पनि हाइकिङ र ट्रेकिङ निकै मनपर्छ, हिमालले उसलाई पनि आकर्षित गरिरहेको छ। अहिले उसलाई पढाइमा केन्द्रित गर्नु हाम्रो प्रयास छ, बाँकी पछि उसले जे गर्न चाहोस्, हामी उसको लागि सधैँ साथमा हुनेछौँ।
बाबु दुई वर्षको हुँदा जापान, सिंगापुर, थाइल्यान्ड, मलेसिया लगायतका विभिन्न देशहरू घुम्ने मौका पनि मिल्यो। मेरो मातृत्व यात्रा निकै रमाइलोसँग बितिरहेको छ। पहिला आफ्नो बारेमा मात्र सोचिरहेकी म अहिले सर्लक्कै सबै माया बच्चामा सरेको छ। अब आफ्नो लागि मात्र होइन, अरूको लागि पनि केही गर्नुपर्छ भन्ने लाग्छ।
आमा भएपछि मैले आफैँमा धेरै परिवर्तन पाएँ। पहिलाको भन्दा थप बलियो र जिम्मेवार भएको पनि महसुस गरेको छु।
वैशाख २८, २०८२ आइतबार १४:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।