‘यो कस्तो गरिबी हो, यो कस्तो बेरोजगारी हो?’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले साउदी अरबको जुबैदमा चार सय जना बन्धक भएको विषयमा कुटनीतिक पहल गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले देशका ८० लाख युवा श्रमका लागि विदेश गइरहेको स्मरण गराउँदै साउदी अरबको जुबैद क्याम्पमा बन्धक भएका नेपालीलाई छुटाउन माग गरे।
उनले भने, ‘८० लाख युवा अर्काको देशमा काम गर्न बाध्य छन्। साउदी अरबको जुबैद क्याम्पमा चार सय नेपाली बन्धक भएका छन्। सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन छ। परराष्ट्र मन्त्रालयले कुटनीतिक तवरले त्यसको समाधानका लागि लागेको देखिँदैन।’
उनले १० वर्षमा १४ हजार नेपाली बाकसमा फिर्ता भएको तथ्यांक पेश गर्दै बन्धक बनाइएका नेपालीहरूको फिर्ताका लागि पहल गर्न सरकारलाई आग्रह समेत गरे।
यस्तै उनले जुन देशमा युद्ध भए पनि नेपालीकै मृत्यु भइरहेको अवस्थामा देशमा गरिबी र बेरोजगारी अन्त्य गर्नुपर्नेमा जोड दिए।
उनले थपे, ‘भारत–पाकिस्तान युद्ध हुन्छ, त्यहाँ नेपाली नै मर्छन्। रुस र युक्रेनको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। इजरायल र प्यालेस्टाइनको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। यो कस्तो गरिबी हो, यो कस्तो बेरोजगारी हो?’
वैशाख २८, २०८२ आइतबार ११:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।