युक्रेनसँग प्रत्यक्ष र तुरुन्तै वार्ता सुरू गर्ने पुटिनको चाहना

युक्रेनसँग प्रत्यक्ष र तुरुन्तै वार्ता सुरू गर्ने पुटिनको चाहना

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन्। उनले यो कुराकानी मे १५ बाट सुरू हुने बताएका छन्।

शनिबार अबेर राति टिभी मार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले यस्तो इच्छा व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘वार्ता गम्भीर होस् भन्ने हामी चाहन्छौँ। ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौँ र बलियो र दिगो शान्ति स्थापना गर्न सकौँ।’

शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गर्दा उनको भनाइ आएको हो।

यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए।

रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने बताए। तर उनले दबाब दिनु बेकार भएको चेतावनी दिए।

आफ्नो विज्ञप्तिमा, पुटिनले टर्कीको इस्तानबुल शहरमा गर्न चाहेको यी वार्ताहरूले नयाँ युद्धविराम वा सम्झौतामा पुर्याउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताए।

उनले आइतबार यस विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग विस्तृत रूपमा कुरा गर्ने बताए। युक्रेनले अहिलेसम्म यो वार्ताको निमन्त्रणाको जवाफ दिएको छैन।

वैशाख २८, २०८२ आइतबार १०:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।