रिब्दीकोटमा ३५ र ४० कटेका महिला-पुरुषलाई नगदसहित सम्मान

रिब्दीकोटमा ३५ र ४० कटेका महिला-पुरुषलाई नगदसहित सम्मान

तानसेन : जिल्लाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले एकल महिला र पुरुषलाई सम्मान गरेको छ।

समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्नका लागि भन्दै वडा कार्यालयले १५ महिला तथा पुरुषलाई नगद पाँच हजारसहित सम्मान गरेको गरेको हो।

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट-१ वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

‘श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ’, जोगीथुमका केशव कुमालले भने।

वडाले आफूहरूलाई सम्मान गरेकामा मन खुसी भएको बन्दना सुनारले बताइन्, ‘मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु। एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु।’

वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताइन्।

वैशाख २८, २०८२ आइतबार ०८:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।