भिमफेदीमा गाडी बोकेको झल्को मेटाउने यी दृश्य, दुई घण्टा बोकेर कान्दा पुर्‍याइयो ट्रयाक्टर

भिमफेदीमा गाडी बोकेको झल्को मेटाउने यी दृश्य, दुई घण्टा बोकेर कान्दा पुर्‍याइयो ट्रयाक्टर

भरतपुर : राणाकाल र पछि त्रिभुवन राजा भएको बेलासम्म पनि काठमाडौंमा चल्ने सबै गाडी भीमफेदीको बाटो हुँदै मानिसले नै बोकेर ल्याउने गरिन्थ्यो। तराईलाई काठमाडौंसँग जोड्ने बाटो नबनाइँदा काठमाडौंमा राजा र राणाहरूले चढ्ने गाडी बोकेर ल्याउनुको विकल्प थिएन।

समय बित्यो। तर नेपालका केही विकट गाउँको अवस्था अझै उस्तै छ। गाडी गुड्ने सडकै पुगेका छैनन्। सडकै नपुगेको भौगोलिक रूपमा अति विकट चितवनको कान्दाका स्थानीयवासीले राणाकालीन समयको झल्को दिने गरी बोकेरै हाते ट्रयाक्टर गाउँ भित्र्याएका छन्।

चेपाङ समुदायको बाहुल्य रहेको यस दुर्गम बस्तीमा पुग्न सवारी साधन रोकिने ठाउँबाट कम्तीमा दुई घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। यद्यपि गाउँमा बाली लगाउनका लागि मुख्य मेसिन यही भएकाले ट्र्याक्टर भित्र्याउँदा स्थानीयहरूमा खुसी देखिन्थे।

मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ हाते ट्रयाक्टर गाउँमा आइपुग्दा स्थानीय खुसी र उत्साही भएको बताउँछन्।

‘पछिल्लो समयमा युवाहरू श्रमका लागि बाहिरिने क्रम बढेको छ, गाउँमा प्रायः बुढाबुढी र बालबालिका मात्र रहनुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘परम्परागत रूपमा गरिँदै आएको गोरु पाल्ने चलन पनि घट्दै गएकाले खेतबारी बाँझै रहने चिन्ता थियो। अब यो हाते ट्रयाक्टरले जोत्न पाउँदा हाम्रो काम धेरै सहज हुने भयो, जमिन बाँझिने समस्या कम हुने भयो।’

राप्ती नगरपालिका-१३ मा पर्ने कान्दालाई चितवनकै सबैभन्दा विकट ठाउँमध्ये एक मानिन्छ। सडक र विद्युतीकरण जस्ता विकासका पूर्वाधारहरू अझै पुग्न सकेका छैनन् यहाँ।

पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै करिब दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ भन्ने स्थानमा पुगिन्छ। भञ्ज्याङबाट ओरालो लाग्दै साँघुरो र अप्ठ्यारो गोरेटो बाटोमा झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा गाउँ पुगिन्छ।

यही कठिन बाटो हुँदै स्थानीयवासीले शनिबार ट्रयाक्टर बोकेर ल्याएका थिए। हाते ट्रयाक्टरको बोकेर साधुँरो घोडेटो बाटो पार गर्नु चुनौतीपूर्ण भए पनि गाउँमा नयाँ प्रविधि भित्र्याउने उत्साहले स्थानीयलाई हौसला दिएको थियो।

करिब १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाले ज्यान गुमाएको दु:खद घटनापछि कान्दाले काठमाडौंको ध्यान तानेको थियो। त्यसपछि यहाँ विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा जीवनस्तर सुधारका कामहरू भइरहेका छन्।

विगतमा जङ्गली कन्दमूल र परम्परागत खेतीबाट मुस्किलले जीविका चलाउँदै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समय व्यावसायिक कृषि गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन्। कृषिलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन हाते ट्रयाक्टरले महत्त्वपूर्ण सहयोग पुग्ने अध्यक्ष सीताबहादुरको छ।

स्थानीय किसान कृष्णबहादुर प्रजा, आफ्नो गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा आफूहरूले नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताउँछन्। विकासका सबै कुराले पछाडि परेको कान्दालाई राज्यले अझै पनि पर्याप्त ध्यान दिन नसकेको उनको गुनासो छ।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा हाते ट्रयाक्टर कान्दा पुगेको हो। करिब पैसठ्ठी घरधुरी रहेको कान्दामा मितेरी कृषक समूहमार्फत किसानहरू सामूहिक रूपमा एकीकृत भई कृषि कर्म गरिरहेका छन्।

सोही ठाउँमा रहेको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि व्यावसायिक कृषिखेती गरिएको छ। त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसेर पढ्ने चेपाङ बालबालिकाहरूलाई खुवाउने गरिएको छ।

हाते ट्रयाक्टर कृषक समूह र विद्यालयको छात्राबास दुवैको खेतीका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन्। हाते ट्रयाक्टरको उपलब्धताले यहाँका किसानलाई बारी जोत्न र समग्र उत्पादन बढाउन मद्दत पुग्ने उनको विश्वास छ।

‘हामी कृषि उत्पादनलाई यहाँ अध्ययनरत चेपाङ बालबालिकाको जीवन र सिकाईसँग जोड्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि आधुनिक कृषि प्रणालीतर्फ आकर्षित भइरहनुभएको छ, जसले गाउँमा सकारात्मक परिवर्तन ल्याउँदैछ।’

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल, राज्यको मूल प्रवाहबाट पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउँछन्। राज्यका निकाय र निजी क्षेत्रको हातेमालो तथा सहकार्यबाट मात्रै यस्ता विकट समुदायको जीवनमा वास्तविक रूपान्तरण ल्याउन सकिनेमा जोड दिए।

कान्दाका किसानले मुख्यतया मकै, कोदो, फापर र मौसमअनुसारका तरकारी खेती गर्दै आएका छन्। चिसो हावापानी भएको यस ठाउँमा भविष्यमा व्यावसायिक फलफूल खेतीको पनि राम्रो सम्भावना देखिन्छ।

बोकेरै कान्दा पुगेको यो हाते ट्रयाक्टरले त्यहाँको कृषि प्रणालीमा सुधार ल्याई चेपाङ समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

राससको सहयोगमा

वैशाख २८, २०८२ आइतबार ०७:५९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।