अमृतसरमा साइरनपछि सतर्कता, जिल्ला रेड अलर्टमा

अमृतसरमा साइरनपछि सतर्कता, जिल्ला रेड अलर्टमा

एजेन्सी : भारत-पाकिस्तान सीमावर्ती क्षेत्र अमृतसरमा हिजो राति ठूलो साइरन बजिएपछि स्थानीय प्रशासन सतर्क बनेको छ।

आइतबार बिहान उपायुक्त साक्षी सहनीले एक इडभाइजरी जारी गर्दै नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

साइरनपछि केही समय अवरुद्ध भएको विद्युत आपूर्ति अहिले पुनःस्थापित भइसकेको छ। यद्यपि, अमृतसर जिल्ला अझै पनि रेड अलर्टको अवस्थामा रहेको छ।

सहनीले सार्वजनिक सन्देशमार्फत नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन, घरभित्र सुरक्षित बस्न र झ्याल वा ढोका नजिक नजान अनुरोध गरेकी छन्।

‘अवस्था पूर्ण रूपमा सुरक्षित भएपछि मात्र प्रशासनले हरियो संकेत दिनेछ,’ उनले भनेकी छन्, ‘कृपया नआत्तिनुहोस्, शान्ति कायम राख्नुहोस् र प्रशासनका निर्देशनहरू पालना गर्नुहोस्।’

यसबीच, भारत र पाकिस्तानबीच मे १० को साँझ युद्धविरामको सहमति भएको छ। पछिल्ला केही दिनयता दुवै देशबीच सीमावर्ती क्षेत्रमा द्वन्द्व भइरहेका थिए। दुवै पक्षले एकअर्काको आक्रमणलाई विफल पार्ने दाबी गरेका छन्।

सुरक्षा स्थिति अझै स्पष्ट नभएकाले स्थानीय प्रशासन उच्च सतर्कताका साथ परिस्थितिको निगरानी गरिरहेको जनाएको छ।

वैशाख २८, २०८२ आइतबार ०७:२०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।