आकस्मिक हावाहुरी र छालले फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार

पोखरा : कास्कीको फेवातालमा आएको अचानक हावाहुरीका कारण छालमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।
२७ गते साँझ लेकसाइडस्थित फेवातालमा डुङ्गा चढेर बोटिङ गरिरहेका कास्कीको अन्नपूर्ण गाउँपालिका–३ निवासी ४८ वर्षीय लक्ष्मण गुरुङ र ४८ वर्षीय विजय गुरुङ आकस्मिक हावाहुरी र छालका कारण डुङ्गासहित फसेका थिए।
उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४, कालिका गण कास्की अन्तर्गत फेवाताल रेस्क्यू टावरमा तैनाथ विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहायतामा सकुशल उद्धार गरेको हो।
सशस्त्र प्रहरी बलले हाल फेवाताल क्षेत्रमा बेलुकीपख हावाहुरीको जोखिम बढ्ने भएकाले बोटिङ गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार समयमै उद्दार भएकोले कुनै मानवीय क्षति हुन पाएन।
वैशाख २८, २०८२ आइतबार ०७:१३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।