आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, सुदूरपश्चिमलगायतका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य स्थानका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
देशका केही हिमाली भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ। मधेश प्रदेशका केही स्थानमा हुरी–बतास चल्न सक्ने जनाइएको छ।
आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
ती प्रदेशका हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
वैशाख २८, २०८२ आइतबार ०७:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।