छाक टार्न फोहोर खोतल्नेहरू

छाक टार्न फोहोर खोतल्नेहरू

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-२ का रमेश खत्री र उनकी श्रीमती टीका बुढा बिहानैदेखि हातमा बाल्टी र लठ्ठि बोकेर डम्पिङ साइट पुग्छन्। धुवाँ र आगोले भरिएको बतासे डाँडाको फोहोरमा उनीहरू ‘कबाड’ खोज्छन्- दिनभर त्यही काम गरेर साँझ बिहानको छाक टार्छन्।

नगरपालिकाका १२ वटा वडाको फोहोर थुपारिने यो स्थानमा रमेश र टिका जस्ता १५ जनाभन्दा बढी मजदुरले कवाड संकलन गरेर गुजारा चलाइरहेका छन्। जलिरहेको फोहोरको डङ्गुरभित्र प्लास्टिक, फलाम, सिसाका टुक्रा खोज्ने उनीहरूले दैनिक तीनदेखि पाँच सय रुपैयाँसम्म कमाउँछन्।

रोजगारी खोज्दै भारतसम्म पुगेका रमेश स्वदेश फर्किए र यही काम गर्न बाध्य भए। ‘यहाँ अरु रोजगारी छैन। भारतमा गएर पनि कमाई भएन। घरमा ६ जनाको परिवार छ। हामीले काम नगरेपछि साँझ बिहानको छाक पनि टर्दैन। अरु केही उपाय भएन। दुई जनाले चार पाँच सय बनाएपछि बल्ल चुलो बल्छ,’ धुवाको मुस्लोमा फोहोर खोतल्दै गरेका रमेशले भने, ‘जलिरहेको फोहोर भित्रबाट कबाड उठाउनुपर्छ। स्वास्थ्यलाई त्यतिकै हानी छ। आगोले जलिने होकी भन्ने पनि डर हुन्छ।’

उता उनकी श्रीमती टीकाले फोहोरमा बिताएको दिनको असर रातभर महसुस हुने बताइन्। ‘दिनभर धुवा भित्र काम गर्नुपर्छ। कहिल्यै कवाड भेटिन्छ। कहिल्यै भेटिदैन, फोहर भित्रको पनि फोहोर देख्नुपर्छ,’ उनले भनिन्, ‘साँझ टाउको दुख्छ। घाँटी थुनिएको जस्तो हुन्छ। अनि दबाई नखाई सुत्न सकिदैन।’

उनले फोहोरभित्र काम गर्दा झाडा पखाला, डेङ्गी लाग्ने जोखिमसँगै सिरीन्ज र काँचका टुक्राले घाउ हुने समस्या नियमित झेल्नुपरेको बताइन्।

वीरेन्द्रनगर-२ का अर्का स्थानीय दीपक न्यौपाने पनि यही काम गर्छन्। तर, उनी मेहनत अनुसारको कमाई नभएको गुनासो गर्छन्। ‘मेहनत धेरै छ। जोखिम पनि उस्तै छ। तर कमाई दुई चार सय रुपैयाँ मात्रै हुन्छ,’ उनले भने, ‘यो डाँडामा त केही घटना भएपनि खबर पुर्याउने मान्छे हुँदैनन्। खाना-पानी त परको कुरा भयो।’

यहाँको मजदुर जीवन राज्यको नजरमा परेको छैन- न स्वास्थ्य सुरक्षाको व्यवस्था छ, न खानेपानी। उनीहरूको जीविका यस्तै आगो र धुवाँको बीचमा अडिएको छ।

 

समुदायलाई धुवाँको पिर

वीरेन्द्रनगर नगरपालिका-१ स्थित बतासे डाँडा श्रीकृष्ण सामुदायिक वनभित्र पर्छ, जसको नजिकै बराहताल गाउँपालिका-१० छ। यतिबेला यी दुवै क्षेत्र डम्पिङ साइटको प्रत्यक्ष प्रभावमा परेका छन्। नगरभित्र उत्पादन हुने फोहोर यहीँ असुरक्षित रूपमा बिसर्जन गरिन्छ, जसले गर्दा वीरेन्द्रनगर-१ र २ साथै बराहताल गाउँपालिका-१० मा बसोबास गर्ने समुदायमाथि गम्भीर असर परेको छ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले जम्मा दुई जना कर्मचारी खटाएको छ, तर व्यवस्थापन विधि भने अत्यन्तै जोखिमपूर्ण छ-थुपारिएका फोहोरमा सिधै आगो लगाइन्छ। यसले आसपासका बस्तीमा प्रदूषण फैलिरहेको छ।

‘सबै फोहोर एकै ठाँउमा फाल्छन्, त्यसैमा आगो लगाइदिन्छन्। त्यो धुवाँले बस्तीसम्म पुग्छ,’ वीरेन्द्रनगर-१ बाङ्गेसिमलका टेकबहादुर विक भन्छन्, ‘धुवाँको उकुसमुकुसले स्वास फेर्नै सकिदैन। हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ।’

एक अध्ययनअनुसार वीरेन्द्रनगरमा दैनिक १२ टनसम्म फोहोर उत्पादन हुन्छ। २०७३ सालदेखि नगरपालिकाले बतासे डाँडालाई डम्पिङ साइटका रूपमा प्रयोग गर्दै आएको हो। बस्तीको छेउछाउमै डङ्गुरजस्तो फोहोर थुप्रिँदा वीरेन्द्रनगर-१ का धारापानी र बाङ्गेसिमल, साथै बराहताल गाउँपालिका-१० को सिमलचौरजस्ता बस्तीहरू सिधै प्रभावित भएका छन्।

फोहोर व्यवस्थापनको नाममा स्थानीय बासिन्दा धुवाँ, दुर्गन्ध र रोगको सास्ती झेलिरहेका छन्, तर दीर्घकालीन समाधानको उपाय भने निकालिएको छैन। 

वैशाख २७, २०८२ शनिबार २१:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।