स्कटल्यान्ड जाने नेपाली टिम सार्वजनिक, दीपेन्द्रलाई उपकप्तानको जिम्मा

स्कटल्यान्ड जाने नेपाली टिम सार्वजनिक, दीपेन्द्रलाई उपकप्तानको जिम्मा

काठमाडौं : आगामी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट लले कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा टोली चयन गरेका छन्।

टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले पाएका छन्। सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिरमा दीपेन्द्रलाई उपकप्तानबाट हटाइएको थियो। करिब चार वर्षपछि उनले पुनः जिम्मेवारी पाए। 

विकेटकिपरको भूमिकामा आसिफ शेख र अनिल शाह रहेका छन् भने कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख व्याटरको रुपमा टोलीमा परेका छन्।

अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि स्थान सुरक्षित गरेका छन्। बलिङ तर्फ स्पिनर सन्दीप लामिछाने, लेगस्पिनर ललित राजवंशीसहित तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन्।

क्यानले भ्रमणपछिको टि-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि तीन अतिरिक्त खेलाडीको नाम पनि सार्वजनिक गरेको छ। त्यसमा ब्याटर किरण ठगुन्ना, लोकेश बम र अलराउन्डर रुपेश सिंह छन्।

स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले लिग-२ का खेलअघि स्कटल्याण्ड ‘ए’ टोलीसँग दुई अभ्यास खेल खेल्नेछ। लिग-२ मा नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
यो भ्रमण नेपालका लागि लिग-२ मा अग्रता कायम राख्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।

वैशाख २७, २०८२ शनिबार १७:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।