अब सरकारले ‘हरियो वन नेपालको धन’ नारालाई व्यवहारमा उतार्ने

अब सरकारले ‘हरियो वन नेपालको धन’ नारालाई व्यवहारमा उतार्ने

काठमाडौं : अब सरकारले ‘हरियो वन नेपालको धन’ नारालाई व्यवहारमा उतार्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हरियो वन नेपालको धन’ भन्ने नारा पुरानै भए पनि यसको व्यवहारिक उपयोग पर्याप्त नभएको भन्दै अब सरकारले वन विनाश रोकेर, वन संरक्षण गर्दै, सौर्यमण्डलकै हितमा उपयोगको मोडेल बनाउन लागेको बताए।  

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको सालघारी फँडानीलाई तत्काल रोकिने स्पष्ट पारे। 

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दोस्रो राष्ट्रिय वन सम्बर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सालघारीजस्ता अग्ला रुखहरू प्रकृतिको अनुपम सम्पत्ति भएको उल्लेख गर्दै यस्ता वनलाई उमेर नपुग्दासम्म व्यावसायिक रूपमा प्रयोग गर्न नहुने बताए।

उनले वन संरक्षणमा देशले उल्लेखनीय प्रगति गरिसकेको उल्लेख गर्दै अब विस्तारभन्दा पनि उत्पादनमुखी नीति अपनाउने समय आएको धारणा राखे। ‘वनको व्यावसायिक उपयोगमा न त हतार गर्नु ठीक हो, न त ढिलो गर्नु,’ प्रधानमन्त्री ओलीले जोड दिए।

प्रधानमन्त्रीका अनुसार हाल नेपालको ४६ प्रतिशत भूभाग वनले ओगटेको छ। उनले वातावरणीय सन्तुलनका लागि सघन वन विस्तार गर्नुका साथै बुट्यानलाई समेत वनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

कृषि तथा वनका अधिकृतहरूबीच समन्वय गराएर फलफूल खेतीलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उनले हिमाली भेगमा जैतुन खेतीको सम्भावना औंल्याए। पशुपालन प्रवर्द्धन तथा चरिचरजन विस्तारमार्फत वन-कृषि सम्बन्ध सुधार गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो।

बाघ संरक्षणको सन्दर्भमा प्रधानमन्त्री ओलीले भने, ‘मैले बाघको सङ्ख्या अब बढाउनु पर्दैन भनेकोमा वातावरण विरोधी भनियो, तर मान्छे खाने बाघको समस्या पनि बुझ्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार दोब्बरभन्दा बढी बाघ संरक्षण गरेका छौं तर वनको छेउमा बस्ने मानिसका पीडा पनि बुझिनुपर्छ।’

पेरिस सम्झौतामा केही देशले सहभागी नभएको उदाहरण दिँदै उनले वातावरणीय मुद्दामा सबै राष्ट्र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। उनले वातावरणीय चेतनाको महत्व आज नबुझिए भोलि ढिलो हुने भन्दै नेपालले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक रूपमा महत्वपूर्ण पहल हुने दाबी गरे।

वैशाख २७, २०८२ शनिबार १६:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।