शिक्षक आन्दोलनको असर- सामुदायिक विद्यालयमा ५० प्रतिशतले घटे विद्यार्थी

जनकपुर : पछिल्लो समय भएको शिक्षक आन्दोलनको असर सामुदायिक विद्यालयमा देखिन थालेको छ। नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान जारी रहँदा जनकपुरका विद्यालयहरूमा विद्यार्थी भर्ना संख्या घटेको पाइएको छ।
धनुषास्थित जनकपुरधामको ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय झाका अनुसार यस वर्ष भर्ना प्रक्रिया सुस्त देखिएको छ। उनका अनुसार, ‘अहिले कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरूको भर्नाका लागि ११ सय जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको छ,’ उनले थपे, ‘यो संख्या पहिलेको वर्षहरु भन्दा करीब ५० प्रतिशत कम भएको हो।’
गत वर्षहरूमा विद्यार्थीको चाप धेरै हुने भएकाले दुईदेखि तीन चरणसम्म प्रवेश परीक्षा सञ्चालन गर्नुपर्थ्यो, तर यस वर्ष अधिकांश परीक्षा कोठाहरू खाली रहेको प्रधानाध्यापक झाले बताए।
यद्यपि उनले विद्यार्थी संख्यामा आएको कमीले विद्यालयको शैक्षिक गुणस्तरमा भने असर नपर्ने बताए। ‘शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएतापनि वर्षे विदा, हिँउदे विदा, सार्वजनिक विदाहरूमा समायोजन गरेर विद्यार्थीहरूलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याइने छ’ उनले भने।
गत चैत २० गतेदेखि देशभरिका शिक्षकहरूले विभिन्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। यस आन्दोलनका कारण नयाँ शैक्षिक वर्ष, भर्ना अभियान, एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो।
वैशाख २७, २०८२ शनिबार १५:३७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।