फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

एजेन्सी : सन् २०३१ बाट सुरु हुने फिफा महिला विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन्। हालको ३२ टोली सहभागी संरचनालाई विस्तार गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार एक वक्तव्य जारी गर्दै यो निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दियो।

फिफाका अनुसार विश्वव्यापी रूपमा महिलाको फुटबलमा देखिएको प्रगतिलाई सम्मान गर्दै सहभागी टोली संख्या बढाउने निर्णय गरिएको हो। यस कदमले थप राष्ट्र र खेलाडीलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर दिने विश्वास फिफाले लिएको छ। साथै, यसले विश्वभर महिला फुटबलमा लगानीको दरलाई पनि बढावा दिने अपेक्षा गरिएको छ।

४८ टोली सहभागिताको नयाँ संरचना अनुसार अब १२ समूह रहनेछन्, जसले गर्दा कुल खेल संख्या ६४ बाट बढेर १०४ हुनेछ। प्रतियोगिता अवधि पनि एक हप्ता लम्बिनेछ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्, ‘यो केवल थप १६ टोलीलाई खेलाउने कुरा होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई महिला फुटबलको समग्र संरचना विकास गर्न प्रेरित गर्नेछ।’

महिला विश्वकपको प्रारम्भ सन् १९९१ मा १२ टोलीबाट भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोली सहभागी भए। सन् २०१९ मा क्यानडा र फ्रान्समा सम्पन्न संस्करणमा २४ टोली थिए भने, सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डको सह–आयोजनामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए। आगामी सन् २०२७ को विश्वकप ब्राजिलमा आयोजना हुने तय छ।

यता, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ जसको संयुक्त आयोजना संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले गर्नेछन्।

वैशाख २७, २०८२ शनिबार १४:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।