सीमामा भएको गोलीबारीमा भारतीय सेनाका सूबेदार मेजरको मृत्यु, तीन महिनापछि हुँदै थिए अवकाश

एजेन्सी : पाकिस्तानी सेनाको गोलीबारीमा परेर भारतीय सेनाका सूबेदार मेजर पवन कुमारको मृत्यु भएको छ।
हिमाचल प्रदेशको सिहोलपुरी, शाहपुर निवासी ४८ वर्षीय कुमार सीमामा तैनाथ थिए। सेनाले घटनाको बारेमा तत्काल परिवारलाई जानकारी दिएको स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
शनिबार बिहान ५ बजेतिर पुन्छ सीमा क्षेत्रमा पाकिस्तानले गरेको भारी गोलीबारीका क्रममा सुबेदार मेजर पवन कुमारलाई गोली लागेको थियो। गोली लागेर उनी गम्भीर घाइते भए र तुरुन्तै अस्पताल लगिए पनि बचाउन सकिएन।
४९ वर्षीय पवन कुमार एक महिनाअघि मात्र बिदामा घर आएका थिए। पवन कुमार अगस्ट ३१ मा अवकाश लिँदै थिए। परिवार उनको अवकाशपछि योजना समेत बनिसकेको थियो। तर, त्यो योजना पूरा हुन पाएन।
उनको मृत्युको खबर पाउने बित्तिकै शाहपुरमा शोकको लहर फैलिएको छ। घरमा समवेदना व्यक्त गर्न आउनेहरूको लामो लाइन छ। जरियालको परिवारमा उनका बुवा पूर्व हवल्दार गराज सिंह, श्रीमती सुष्मा देवी, छोरा अभिषेक कुमार र छोरी अनामिका छन्।
हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सुबेदार मेजर पवन कुमारको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्। उनी कांगडा जिल्लाको शाहपुर नगर पञ्चायतका बासिन्दा थिए।
सुबेदार मेजर पवन कुमारले देशको एकता र सार्वभौमसत्ता कायम राख्न सर्वोच्च बलिदान दिएको भन्दै मुख्यमन्त्री सुखुले राष्ट्रले उनको बलिदानलाई सधैँ सम्झने बताए।
पवन कुमारको पार्थिव शरीर राजौरी ल्याइँदैछ। उनको शव भोलिसम्ममा उनको पुर्ख्यौली गाउँ पुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शाहपुरका उप-विभागीय मजिस्ट्रेट कर्तार चन्दले सेनाबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि नभए पनि शहीदको परिवारले युनिट स्तरबाट जानकारी प्राप्त गरेको पुष्टि गरे।
वैशाख २७, २०८२ शनिबार १४:२९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।