अप्रेशन सिन्दुरको बदलामा पाकिस्तानले सुरु गर्‍यो अपरेशन बुन्यान मार्सस

अप्रेशन सिन्दुरको बदलामा पाकिस्तानले सुरु गर्‍यो अपरेशन बुन्यान मार्सस

एजेन्सी : भारतले सुरु गरेको अप्रेशन सिन्दुरको बदलामा पाकिस्तानले "अपरेशन बुन्यान मार्सस" (आइरन वाल)  सुरु गरेपछि शनिवार थप तनाव बढेको छ।

इस्लामाबादले भारतले रातभर आफ्ना सैन्य अड्डाहरूमा गरेको आक्रमणको प्रतिकारमा सैन्य अभियान सुरु गरेको हो। भारतीय सेनाले पाकिस्तानको अभियानलाई "प्रभावकारी रूपमा प्रतिकार र जवाफ" दिएको बताएको छ।

गत महिना भारत-नियन्त्रित काश्मीरमा पर्यटकहरूको नरसंहारपछि दुई छिमेकी देशहरू बिच तनाव बढेको थियो। जवाफमा, भारतले बुधवार पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मीरमा "अपरेशन सिन्दूर" सञ्चालन गरेको र "आतङ्कवादी पूर्वाधारहरू" लाई लक्षित गरेको बताएको थियो।

पाकिस्तानी सेनाले शनिवार बिहान "अपरेशन बुन्यान मार्सस" (आइरन वाल) सुरु गरेको घोषणा गर्यो, जसले भारत र भारत-प्रशासित काश्मीरमा धेरै लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ, जसमा एक ब्रिगेड मुख्यालय, आपूर्ति डिपो, तोपखाना, मिसाइल ब्याट्री साइट र तीन वायुसेना अड्डाहरू समावेश छन्।

भारतका विंग कमान्डर व्योमिका सिंहले नयाँ दिल्लीमा एक मिडिया ब्रिफिङमा भारतले पाकिस्तानको सैन्य अभियानलाई "प्रभावकारी रूपमा प्रतिकार र जवाफ" दिएको बताइन्।

उनले इस्लामाबादका सेनाहरूले भारत-प्रशासित काश्मीरमा "नागरिक क्षेत्रहरू र सैन्य पूर्वाधार" लाई निशाना बनाएको आरोप लगाइन्।

भारतीय अधिकारीहरूले शनिवार पाकिस्तानको सैन्य कारबाहीमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। जम्मू-काश्मीरका मुख्यमन्त्रीले जिल्ला विकास आयुक्त राज कुमार थापाको भारत-प्रशासित काश्मीरको राजौरी शहरमा गोलाबारीमा मृत्यु भएको पुष्टि गरेका छन्।

अन्तर्राष्ट्रिय सक्रियता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुवै देशका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै कुराकानी गर्दै बढ्दो द्वन्द्वमा अमेरिकी मध्यस्थताको प्रस्ताव गरेका छन्।

युरोपेली संघसहित जिसेभेन देशहरूका विदेश मन्त्रीहरूले भारत र पाकिस्तानलाई "अधिकतम संयम" प्रयोग गर्न आग्रह गर्दै एक संयुक्त वक्तव्य जारी गरेका छन् र "तत्काल तनाव घटाउन" आह्वान गरेका छन्।

चीनले भारत र पाकिस्तान बिच बढ्दो तनावप्रति "गहिरो चिन्ता" व्यक्त गरेको छ, र तनाव घटाउनमा "रचनात्मक भूमिका" खेल्ने प्रतिबद्धता जनाएको छ।

वैशाख २७, २०८२ शनिबार १४:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।