डा. हरिको उपचार अनुभव : आमाले दुःख पाउँदा पनि सन्तानको मन कसरी मानेको होला !

डा. हरिको उपचार अनुभव : आमाले दुःख पाउँदा पनि सन्तानको मन कसरी मानेको होला !

नेत्ररोग विशेषज्ञ डा. हरिविक्रम अधिकारी व्यक्तिको आँखाको ज्योति फर्काउन दुर्गमका गाउँ-गाउँमा पुग्छन्। करिब डेढ दर्जन जिल्लाका कुनाकाप्चामा पुगी उनले धेरैको दृष्टि फर्काएका छन्। उनै डा. हरिले चिकित्सकीय पेशाका क्रममा देखे भोगेका यिनै अनुभव उकेरासँग साटेका छन्।

दृष्टि गुमाएकी आमाको उपचार गर्ने पैसा छैन भन्दै छोराले गाउँमै छोडेपछि....
डा. हरिसँग स्वास्थ्य शिविरमा जाँदाका तीता-मीठा अनुभव छन्। पर्वतको यस्तै एउटा प्रसङ्ग सम्झँदा उनको मन कटक्क हुन्छ।

प्रसङ्ग केही महिनाअघिको मात्रै हो। पर्वतमा स्वास्थ्य शिविर भएको थियो। त्यहाँ डा. हरि पनि पुगेका थिए। त्यो शिविरमा भने गाउँगाउँमा गएर आँखाको समस्या भएका व्यक्तिलाई शिविरसम्म ल्याउने र लाने गाडीको व्यवस्था थियो। खाने र बस्ने व्यवस्था पनि गरिएको थियो।

त्यही शिविरमा करिब ७० वर्षकी आमैलाई आँखा उपचारका लागि पुर्याइयो। बायाँ आँखा पूर्ण रूपमा नदेख्ने र दायाँ धमिलो देख्ने अवस्थामा थिइन् उनी।

ती आमैको दुःख अलि फरक थियो। एकातिर आँखा नदेख्ने, अर्कोतिर घरमा सहारा कोही रहेनछन्। आमैले डा. हरिलाई सुनाएअनुसार उनका एक छोरा काठमाडौं र अर्का भारतमा बस्दा रहेछन्। घरमा आमा एक्लै थिइन्। आँखै नदेख्ने हुँदासम्म पनि ७० वर्षे आमैको उपचार गरिदिने कोही भएनछ। त्यसैले छिमेकीले आमैलाई शिविरसम्म पुर्याउन मद्दत गरेछन्।

डा. हरिले स्वास्थ्य शिविरमा पुर्याइएकी तीनै आमैको आँखाको चेकजाँच सुरू गरे। चेकजाँचको क्रममा ती आमैले बिलौना गर्दै भनिछन्, ‘के गर्नु बाबु, छोराबुहारी काठमाडौंमा घर बनाएर बसेका छन्।’

काठमाडौं बस्ने छोराले ‘पैसा छैन’ भन्दै उपचार गर्न नमानेको गुनासो आमैले पोखिन्। उनले छोरासँग उपचारबारे सोध्दा झर्किँदै ‘पैसै छैन, किन जानुपर्यो?’ भनेको समेत सुनाइन्। ती आमै त ‘छोराले झर्कँदै पैसा छैन भन्यो’ भन्दै बुढेसकालमा दुःख पाएको गुनासो गर्दै रुन पो थालिन्। आमैले पोखेको त्यो दुःखेसोले डा. हरिको मन छोयो।

मोतिविन्दूको समस्याको कारणले ती आमैको आँखाको ज्योति गुमेको रहेछ। डा. हरिको टिमले आमैको बायाँँतर्फको आँखाको शल्यक्रिया गर्यो। जुन आँखा पूर्ण रूपमा नदेखिने भइसकेको थियो।

शल्यक्रियापछि डा. हरिको टिमले शल्यक्रिया गरेको आँखामा पट्टी लगाइदिए। अनि भोलिपल्ट पट्टी खोलिदिए। पट्टि खोलेपछि त आमैले राम्रोसँग आँखा देख्ने भइहालिन्। पुनः राम्रोसँग आँखा देखेपछि फेरी आमै रुन थालिन्। अनि मुस्कुराउँदै अलिअलि खुसी अलिअलि दुःखी भएर घर फर्किइन्।

आँखा देख्ने भए पनि ती आमैले घर पुगेर खुसी साट्न भने परिवारमा कोही थिएनन्। त्यसैले नै आमै दुःखी भइन्। सुविधा सम्पन्न ठाउँमा भएर पनि आमालाई अस्पताल लानसमेत छोराहरूले मन नगरेको सुन्दा डा. हरिको मन अमिलो भयो। उनले सोचे, ‘ओहो! आमाले दुःख पाउँदा पनि सन्तानको मन कसरी मानेको होला!’

आँखाको ज्योति फर्किएपछि ती बाजेका छोरा ह्वाँह्वाँ रोए
स्वास्थ्य शिविर नै लिएर गाउँमा जाँदाको अर्को प्रसङ्ग पनि डा. हरि कहिल्यै भुल्दैनन्। प्रसङ्ग करिब तीन वर्ष अघिको पर्वतकै हो, जहाँ आँखाको स्वास्थ्य शिविरका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम पुगेको थियो। त्यो टिममा डा. हरि पनि थिए। पाको उमेरका एक जना बाजेलाई आँखाको उपचारका लागि शिविरमा पुर्याइयो। ती बाजेले दश वर्षअघिदेखि दुवै आँखा देख्न छाडेका रहेछन्।

ती बाजेको स्वास्थ्य परीक्षणपछि दुवै आँखामा मोतिविन्दू नै भएको पत्ता लाग्यो। दुवै आँखामा मोतिविन्दूको समस्याका कारण ती बाजे आँखा देख्न सक्दैनथे। ती बाजेको मोतिविन्दूको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउन भने सकिने अवस्था थियो।

त्यसैले डा. हरिले नै बाजेको एउटा आँखाको तत्कालै मोतिविन्दूको शल्यक्रिया गर्ने निर्णय लिए। अनि बाजेको दायाँतर्फको आँखाको शल्यक्रिया गरियो। त्यसपछि बाजेको शल्यक्रिया गरेको आँखामा पट्टी लगाइयो। भोलिपल्ट पट्टी खोल्नका लागि ती बाजेलाई लिएर छोरा नै स्वास्थ्य शिविरमा पुगे। डा. हरिले बाजेको आँखामा लगाइदिएको पट्टी खोलिदिए। पट्टी खोलेपछि बाजे पुनः देख्ने भए। अनि छोरालाई देखेर ती बाजे रोए।

अझ ती बाजे भन्दा पनि उनका छोरा पो धेरै रोए। बुवाको आँखाको ज्योति फर्किएपछि खुसिले ती बाजेका छोरा डाको नै छोडेर ‘ह्वाँह्वाँ’ गर्दै रोएको अझै सम्झन्छन्, डा. हरि। यसरी ती बाजेको ज्योति फर्काएउन सफल भएको त्यो प्रसङ्ग सम्झँदा उनलाई अझै आनन्द लाग्छ।

७५ बाजेको आँखाको ज्योति फर्किएपछि...
त्यसैगरी बागलुङमा स्वास्थ्य शिविर गर्दाको अर्को प्रसङ्ग पनि डा. हरि कहिल्यै बिर्सँदैनन्। प्रसङ्ग करिब छ वर्षअघिको हो। करिब ७५ वर्षका बाजेलाई परिवारले बोकेर त्यो स्वास्थ्य शिविरमा पुर्याएछन्। डा. हरिले ती बाजेको स्वास्थ्य अवस्था निक्कै कष्टकर रहेको देखे।

बाजे दुवै आँखा नदेखेर करिब नौ वर्षदेखि थला परेर बसेका रहेछन्। बाजेले देख्न छाडेपछि हिँडडुल गर्न नसक्ने भएछन्। परिवारले बसिरहेकै ठाउँमा ती बाजेलाई खानपिन गराउनुपर्ने अवस्था थियो। दिसापिसाव गर्न पनि जान नसक्ने भइसकेको अवस्थामा थिए उनी। यतिसम्म की बाजे दृष्टिविहीन भएकाले हिँडडुल गर्न नसक्दा नहिँडेर खुट्टा नै सुकेछन्।

जसले गर्दा बाजे झन् थला परेका थिए। आँखा नदेख्ने अनि हिँडडुल गर्न पनि नसक्ने भएकाले बाजेको दैनिकी कष्टकर थियो।

मोतिविन्दूको समस्याकै कारण बाजेको दुवै आँखाको दृष्टि गुमेको डा. हरिले पत्ता लगाए। बाजेको आँखामा भएको मोतिविन्दूको समस्याको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउन सकिने अवस्था थियो। त्यसैले डा. हरिले ती बाजेको दायाँतर्फको मात्रै आँखाको मोतिविन्दूको शल्यक्रिया गरिदिए।

दुवै आँखामा मोतिविन्दुको समस्या भएको अवस्थामा दुवै आँखाको एकै पटक शल्यक्रिया गरिँदैन। दुवै आँखाको एकैपटक शल्यक्रिया गर्दा केही गरी एउटा आँखामा संक्रमण भयो भने अर्को आँखामा सर्ने जोखिम हुन्छ। यसरी संक्रमण भएको खण्डमा आँखाको ज्योति नै गुमाउनुपर्ने जोखिम समेत हुन्छ।

भोलिपल्ट बाजेको आँखाको शल्यक्रियापछि लगाइएको पट्टी खोलियो। लामो समयदेखि अन्धकारमा भएका बाजेले चमत्कार जस्तैगरी देखे। पट्टी खोलिएपछि त बाजे कम्ता रमाएनन्। गाला मुजा परेका ती बाजेको ओठमा त्यो बेलाको मुस्कान र हाँसो कम सुखद् देखिएको थिएन। पहिलो पटक आँखाको शल्यक्रिया गरेको एक महिनापछि ती बाजेलाई फलोअपका लागि बोलाइयो।

एउटा आँखाको ज्योति खुलेपछि बाजे हिँडडुल पनि गर्न थालेछन्। अनि खुट्टा पनि सहि ठाउँमा आइपुग्यो। बाजे फलोअपमा ठमठम हिँडेरै पो पुगे। डा. हरिको टिमले ती बाजेको बायाँतर्फको पनि आँखाको शल्यक्रिया गर्यो। त्यसपछि बाजेका दुवै आँखाका दृष्टि खुले।

दुवै आँखा देख्ने भएपछि त झन् बाजे खुसीले गदगद हुँदै हिँडेरै घर फर्किए। दश वर्षदेखि संसार नै अन्धकार भएर कष्टकर जीवन बिताइरहेका ७५ वर्षे बाजेका दुवै आँखाको दृष्टि खुलेपछिको उनको खुसीको सीमा शब्दमा वर्णन गर्न सक्दैनन्, डा. हरि।

पर्वतमा जन्म, छात्रवृतिमा एमबीबीएस अध्ययन
पर्वतको हालको मोदी गाउँपालिका-५ मा २०४१ मा जन्मिएका हरिविक्रम अधिकारीले पोखरास्थित गण्डकी बोर्डिङ स्कुलबाट २०५७ मा एसएलसी गरे। त्यहीँबाट उनले ‘प्लस टु’ गरे।अध्ययनमा अब्बल हरिलाई सानैबाट डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले प्लसटुपछि डाक्टरी विषय नै अध्ययनका लागि तयारी गरे।

हरिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट परीक्षामा उनी सफल मात्रै भएनन्, छात्रवृति कोटामा नै अध्ययन गर्ने अवसर पाए अनि प्रतिष्ठानमा सन् २००४ मा भर्ना भएर एमबीबीएस अध्ययन थाले।

छात्रवृत्ति कोटामा अध्ययन गरेका हरिको सन् २००९ मा एमबीबीएस अध्ययन सकियो। त्यसपछि एक वर्ष उनले प्रतिष्ठान र विराटनगरको एउटा निजी अस्पतालमा एक वर्ष गरी दुई वर्ष मेडिकल अधिकृतको करार जागिरेका रुपमा काम गरे।

छनोटमा आँखा
डा. हरिले थप अध्ययन त गर्ने नै भए। उनको थप अध्ययनमा रुचिमा पर्यो-नेत्ररोग विषय। यो विषय उनलाई मनपर्न थाल्यो। किनभने आज उपचार गर्यो भोलि नै बिरामीले चमत्कार जसरी आँखा देख्ने विषय भएकाले यो विषयप्रति उनलाई औधि चासो बढेको रहेछ।

आँखाको शल्यक्रियापछि नतिजा चाँडै देखिने, अनि वर्षौंसम्म आँखा नदेख्ने बिरामी मोतिविन्दुको उपचारपछि भोलिपल्टै छर्लङ्ग आँखा देख्ने विषयले उनको मन तान्यो। त्यसैले डा. हरिले चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा नेत्ररोग विषय नै अध्ययन गर्ने निर्णय लिए।

उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तरत तहको नेत्ररोग (अफथाल्मोलोजी) विषयमा सन् २०१२ मा एमडी अध्ययन गर्न थाले। उनले एमडी पनि नेत्रज्योति संघ र आइकेयर फाउण्डेशनले मिलेर संयुक्त रुपमा गरिएको छात्रवृत्ति कोटामा अध्ययन गरेका रहेछन्। सन् २०१५ मा उनको तीन वर्षे एमडी अध्ययन पूरा भयो।

आँखाको ज्योति फर्काउन तल्लिन चिकित्सक
नेत्ररोगमा एमडी अध्ययन गरेपछि डा. हरि पोखरास्थित हिमालय आँखा अस्पतालमा नेत्ररोग विशेषज्ञका रूपमा जागिरे भए। हाल उनी त्यहीँ कार्यरत छन्। गण्डकी प्रदेशमा यो एउटा मात्रै आँखाको विशेष अस्पताल भएको उनले सुनाए।
डा. हरिले तिलगंगा आँखा अस्पतालबाट बालबालिकाको आँखा सम्बन्धी (पेडियाट्रिक अप्थाल्मोलोजी) विषयमा समेत केही समय फेलोसिप गरेर ज्ञान तथा सीप सिके।

आँखाको समस्या भएर अस्पताल पुगेका बिरामीहरूको औषधि उपचार तथा शल्यक्रिया गरी सञ्चो बनाउनु नै डा. हरिको चिकित्सकीय पेशाको धर्म र कर्म हो। उनी दैनिक त्यही नै गर्छन्। विशेषगरी आँखाको मोतिविन्दू र आँखाको डेरोपनाको शल्यक्रिया गरी उपचार गर्नमा नै केन्द्रित हुन्छन्।

डा. हरिले भारतमा गएर उमेर नपुगी जन्मिएका शिशुको आईसीयुमा राखेर उपचार गर्दा आँखाको ज्योतिमा निम्तन सक्ने समस्याको समेत उपचार गर्ने थप ज्ञान तथा सीप सिके।

उमेर नपुगी जन्मिएका बच्चामा उपचारका क्रममा आँखाको ज्योतिमा नै समस्या भएर आँखै देख्न नसक्ने सम्मको समस्या निम्तन सक्ने उनले सुनाए। यस्ता शिशुको बेलैमा उपचार गरेको खण्डमा आँखाको ज्योति फर्काउन सकिने र उपचार ढिला भएको खण्डमा आँखाको ज्योति नै गुम्ने जोखिम हुने उनले सुनाए।

आँखाको ज्योति फर्काउन दुर्गममा पुगेका डा. हरिले गण्डकी प्रदेशका सबै जिल्लामा पुगेका छन्। स्वास्थ्य शिविरमा गएर व्यक्तिको आँखाको चेकजाँच र औषधि उपचार अनि शल्यक्रिया गरेर आँखाको ज्योति फर्काउनु नै उनको रुचि र रहरको विषय हो। उनी व्यक्तिको आँखाको ज्योति फर्काउने कर्ममा नै तल्लीन छन्।

वैशाख २७, २०८२ शनिबार १३:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।