६८ को उमेरमा कक्षा १२ को परीक्षा दिँदै पूर्व प्रहरी लालबहादुर

गोरखा : शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ। यहाँको पालुङटार नगरपालिका-६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरूमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर।
तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।
कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ।
‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिनँ, तर फेलै चाहिँ भइन्न होला,’ उनले भने, ‘अब बाँकी विषय त सजिलै छन्। आफ्नै शैलीमा लेख्न सक्छु।’
उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन्। कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिएका थिए।
‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो। टेस्टमा पास गर्यो भने एसएलसी दिन पाउँथे। मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने।
तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन। एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाने गरेको उनले सुनाए।
‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे। तर जसोतसो एसएलसी दिएँ। तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ,’ उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो। हामी चार भाई, एक बहिनी थियौँ। आर्थिक अभावका कारण पढाइ छोड्नु पर्यो। तर, मनबाट शिक्षाको भोक हराएन।’
उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन्।
‘छोराछोरी जन्मिसकेका थिए। आफ्नो रहरमात्र हेरेर भएन। घर व्यवहार पनि चलाउनु पर्यो,’ विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन। अहिले छोराछोरीहरू सबै हुर्किए। बिहेबारी भइसक्यो। अब पढ्नलाई सहज छ। त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ।’
कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने उनको इच्छा छ।
चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरू वैदेशिक रोजगारीमा छन्। उनीहरूले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन्।
ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरू पनि खुसी छन्।
वैशाख २७, २०८२ शनिबार १२:३१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।