सैन्य एयरबेसमा पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गरेको भारतको आरोप, कुरैशीले के भनिन्?

एजेन्सी : भारत र पाकिस्तानबीच जारी तनावका बीच भारतीय अधिकारीहरूले लगातार चौथो दिन पनि सीमा क्षेत्रको पछिल्लो अवस्था र भारतको कारबाहीबारे जानकारी दिएका छन्।
शनिबार आयोजित एक पत्रकार सम्मेलनमा भारतीय सेना, विदेश मन्त्रालय र वायुसेनाका अधिकारीहरूले पाकिस्तानले निरन्तर उत्तेजक गतिविधि गरिरहेको र भारतले त्यसको उचित जवाफ दिएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका कर्णेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा सीमा क्षेत्रमा भएका घटनाबारे बताइन्।
उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ।’
कर्णेल कुरेशीका अनुसार श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।
उनले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्याएको आरोप लगाइन्।
उनले बिहान १ बजेर ४० मिनेटमा पञ्जाबको एक सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको जानकारी दिइन्। कर्णेल कुरेशीले भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको पनि बताइन्।
पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक भएको बताउँदै भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको बताए।
पत्रकार सम्मेलनमा विदेश सचिव मिश्री, कर्णेल कुरेशीका साथै भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंह पनि उपस्थित थिए।
भारतको यो पछिल्लो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
वैशाख २७, २०८२ शनिबार ११:४०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।