टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी, पुनर्विचार गर्न बीसीसीआईको आग्रह

एजेन्सी : भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्।
नियमित कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि ३६ वर्षीय कोहलीले पनि त्यस्तो मनस्थिति बनाएका हुन्। शर्माले मे ७, २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।
यद्यपि, बीसीसीआईले विशेषगरी आगामी जुन-जुलाईमा इंग्ल्यान्डविरुद्ध हुने पाँच टेस्ट म्याचको महत्त्वपूर्ण शृंखलालाई ध्यानमा राख्दै कोहलीलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा महत्त्वपूर्ण प्रभाव पार्नेछ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तानमध्ये एक हुन्। उनले २०१४ देखि २०२२ सम्म नेतृत्व गर्दै ६८ मध्ये ४० टेस्टमा जित दिलाएका थिए।
विराट कोहलीले २०११ मा वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका थिए। १२३ टेस्टमा उनले ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक, ३१ अर्धशतक र ७ दोहोरो शतक छन्। ९,००० टेस्ट रन पूरा गर्ने उनी चौथो भारतीय हुन्।
पछिल्लो पटक २०२४ मा पर्थ टेस्टमा अष्ट्रेलियाविरुद्ध आफ्नो ३०औँ शतक बनाएका कोहली सचिन तेण्डुलकर (५१), राहुल द्रविड (३६), र सुनिल गावस्कर (३४) पछि सर्वाधिक टेस्ट शतक बनाउने चौथो भारतीय ब्याट्सम्यान हुन्।
२०२४/२५ को अष्ट्रेलिया भ्रमणको बोर्डर-गावस्कर ट्रफीपछि नै उनले टेस्ट भविष्यबारे सोच्न थालेका थिए। उक्त शृंखलामा उनको प्रदर्शन खासै प्रभावशाली नभएपछि निरन्तरताबारे प्रश्न उठेको थियो।
इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘विराटले आफ्नो मन बनाइसकेका छन् र बीसीसीआईलाई टेस्ट क्रिकेट छोड्ने जानकारी दिएका छन्। तर, बोर्डले उनलाई इंग्ल्यान्ड भ्रमणको महत्त्व हेरी पुनर्विचार गर्न भनेको छ। उनले अहिलेसम्म जवाफ दिएका छैनन्।’
वैशाख २७, २०८२ शनिबार १०:५५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।