पाकिस्तानी गोलीबारीमा मारिएका धर्मगुरुलाई भारतीय टिभी च्यानलहरूले ‘आतंकवादी’ भनेपछि...

पाकिस्तानी गोलीबारीमा मारिएका धर्मगुरुलाई भारतीय टिभी च्यानलहरूले ‘आतंकवादी’ भनेपछि...

एजेन्सी : सीमापार गोलीबारीमा ज्यान गुमाएका प्रशासित जम्मू-कश्मीरका मौलवी कारी मोहम्मद इकबाललाई केही भारतीय राष्ट्रिय मिडियाहरूले बिना प्रमाण 'आतंकवादी'को रूपमा चित्रण गरेको छ।

राष्ट्रिय मिडियाले उनलाई आतंकवादी भनेपछि स्थानीय आक्रोशित भएका छन् भने प्रहरी प्रशासनले पनि ती मिडिया दाबीहरूलाई ‘भ्रामक र आधारहीन’ भन्दै खण्डन गरेको छ।

४६ वर्षीय कारी इकबाल पुन्छ जिल्लाको मन्डी तहसीलस्थित बैला गाउँका स्थायी बासिन्दा थिए। उनी मदरसा जिया-उल-उलूममा झण्डै एक दशकदेखि शिक्षकको रूपमा सेवा गर्दै आएका थिए। मंगलबार पाकिस्तानी सेनाको गोलाबारीमा उनी मारिए।

तर, घटनापछि एबीपी न्यूज, जी न्यूज लगायतका ठूला टेलिभिजन च्यानलहरूले प्रमाणीकरण नै नगरी उनको तस्बिर प्रयोग गर्दै ‘आतंकवादी’ भनी समाचार चलाए।

यसरी मृतकप्रति अपमानजनक र झूटा दाबी प्रसारण गरेपछि स्थानीय समाज, धार्मिक अगुवा र आम नागरिकहरूमा आक्रोश फैलिएको द वायरले लेखेको छ।

पुन्छ प्रहरीले विज्ञप्ति निकाल्दै उक्त समाचारहरू असत्य भएको स्पष्ट पारेको छ। प्रहरीका अनुसार कारी मोहम्मद इकबालको कुनै पनि आतंकवादी समूहसँग कुनै सम्बन्ध थिएनन् र उनी समुदायमा सम्मानित धार्मिक व्यक्ति थिए।

जिल्ला विकास परिषद् सदस्य शाहनवाज चौधरी भन्छन्, ‘एक जना इमानदार शिक्षकलाई मृत्युपछि आतंकवादीको संज्ञा दिइनु दुःखद मात्र होइन, अपमानजनक पनि हो। मिडियाले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।’

सामाजिक सञ्जालमा समेत कारी इकबालको पक्षमा जनमत एकजुट हुँदै गएको छ। धेरैले शिक्षकलाई आतंकवादी बनाउने सञ्चारमाध्यमहरू नै देशका साँचो खलनायक भएको टिप्पणी गरेका छन्।

इस्लामिक कल्याणकारी संस्थाहरूले पनि आक्रोश व्यक्त गर्दै यस्ता भ्रामक समाचार प्रकाशित गर्ने मिडिया संस्थाहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्।

राजौरीस्थित इस्लामिक कल्याणकारी संगठनका प्रमुख शफकत मीरले कोरोना महामारीको बेलामा उनले धर्म नहेरी सबैलाई सकेजति सहयोग गरेको भन्दै स्मरण गरे।

उनले भने, ‘यति मानवीय व्यक्तिलाई लश्करसँग जोडेर प्रचार गर्नु सरासर बदनियत हो।’

यस समाचार तयार पार्दासम्म कुनै पनि मिडिया च्यानलले औपचारिक रूपमा खण्डन वा क्षमा मागेका छैनन्।

वैशाख २७, २०८२ शनिबार ०७:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।