चार हप्ता अघि सुचारु भएको हेटौंडा सिमेन्ट उद्योग फेरि बन्द

मकवानपुर : चार हप्ता अघि मात्र उत्पादन पुनः सुरु गरेको हेटौंडा सिमेन्ट उद्योग फेरि बन्द भएको छ। उद्योगका किलन र मिल (किलमिल) सम्बन्धी उपकरणमा समस्या देखिएपछि मर्मत र नयाँ उपकरण जडान गर्नुपर्ने बाध्यताका कारण उत्पादन रोकिएको हो।
उद्योगका निमित्त महाप्रबन्धक विनकुमार कर्णका अनुसार एक हप्तापछि फेरि उत्पादन सुरु गर्ने योजना छ। हाल उद्योगले केही दिनअघि बनाएको सिमेन्टलाई बोरामा प्याकिङ गर्दैछ।
विगत छ महिनादेखि आर्थिक अभावका कारण कोइला लगायत कच्चा पदार्थ र उपकरण किन्न नसक्दा उद्योग ठप्प भएको थियो। चार हप्ता अघि व्यवस्थापनले उत्पादनलाई फेरि जुराएको भए पनि अब पुनः मर्मत र उपकरण अभावको कारणले रोक्नुपरेको हो।
विक्रम संवत् २०३३ मा स्थापना भई २०४३ मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन थालेको यो उद्योगमा सरकारले करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो।
कहिलेकाहीँ मर्मतको कारण बन्द हुँदै आएको यो उद्योगले अघिल्ला दिनमा दैनिक १८ हजार बोरा उत्पादन गर्ने गरेको थियो भने अहिले दैनिक १२ हजार बोरा मात्र उत्पादन भइरहेको उद्योग प्रशासनले जनाएको छ।
उद्योगमा हाल करिब दुई सय जना कर्मचारी स्थायी रूपमा कार्यरत छन्। आवश्यक चुन ढुङ्गा मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट ल्याउने गरिएको छ।
वैशाख २६, २०८२ शुक्रबार २१:५४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।