बज्र मादी जलविद्युतको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं : कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण हुने २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाका लागि एनएमबी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
एनएमबी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच ऋण लगानीसम्बन्धी सहमति भएको हो। कुल लागत रु. ५ अर्ब ३५ करोड अनुमान गरिएको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूको रु. ३ अर्ब ७४ करोड ५० लाख बराबरको ऋण लगानी रहनेछ। बाँकी पूँजी प्रवर्द्धक समूहको इक्विटीबाट जुटाइने बताइएको छ।
त्यस्तै, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित र सोही बैंक समूहबाट लगानी गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले २०७८ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको जानकारी पनि दिइएको छ।
यो आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका हुँदै सञ्चालनमा आएको हो। यसमा एनएमबी बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, र कृषि विकास बैंक लिमिटेडले ऋण लगानी गरेका छन्। यी आयोजनाहरूले ऊर्जा आत्मनिर्भरताका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ।
एनएमबी बैंकले यसअघि पनि ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ, जसले ऊर्जा क्षेत्रमा बैंकको दीर्घकालीन प्रतिबद्धता देखाउँछ।
वैशाख २६, २०८२ शुक्रबार २१:४२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।