रौतहटमा ‘एमगज’को वितण्डा

रौतहटमा ‘एमगज’को वितण्डा

रौतहट : रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले स्थानीयलाई हैरानी दिएको छ। हात्तीले स्थानीयको घर टहरा तथा खेतबारी क्षति पुर्याएको छ । 

चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा  हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ। जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घर टहरा भत्काइसकेको छ। 

हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घरटहरा भत्काएको छ भने खेतबारी क्षति  पुर्याएको चन्द्रपुर नगरपालिका-वडा नं ३ वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए। 

उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षति गरेको छ । झयस क्षेत्रमा केही महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो। 

उनले भने, ‘पटक पटकको उपचारपछि अहिले निको भएको हुन सक्छ। हात्तीको दायाँ  खुट्टामा गहिरो घाउ हुँदा हिँडडुल समेत राम्रो सँग गर्न नसक्ने अवस्थामा थियो ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलीले  दुई पटक घाइते हात्तीको उपचार गरेपछि निको भएको हुन सक्ने उनले बताए। स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गर्न माग गर्दै आएका छन्।

वैशाख २६, २०८२ शुक्रबार २१:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।