दीपेन्द्रले खगेन्द्रलाई सधैं च्याप्नुको कारण के ?

काठमाडौं : जेठ २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के डेरा के घर : घर नम्बर २’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकले यसलाई पशुपति प्रसाद सँग तुलना गर्न थालेका छन्। पशुपति प्रसादकै लोकेसनमा खिचिएको र खगेन्द्र लामिछानेको अभिनय शैली उस्तै देखिएको भन्दै ट्रेलरले पुरानो फिल्मको झल्को दिएको प्रतिक्रिया आएको छ।
दुवै फिल्मका निर्देशक दीपेन्द्र के. खनाल भने यस्तो प्रतिक्रिया सुन्दा खुसी भएको बताउँछन्। शुक्रबार बिहान पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा उनले एक दर्शकको कमेन्टले आफू भावुक बनेको सुनाए। ‘एकजना दर्शक कमेन्टमा यो फिल्मको ट्रेलर हेरेर खुशी हुनुभयो। किनभने मरेको पशुपति प्रसाद फर्केर आयो भन्ने कुरा गर्नुभएको छ। त्यो कमेन्ट देखेर खुशी पनि लागेको छ। पशुपति प्रसादलाई ७-८ वर्षसम्म पनि माया गर्नु भएको रहेछ भन्ने बुझेको छु।’
ट्रेलरको कलर टोन र प्रस्तुति पनि पशुपति प्रसादजस्तै भएको भन्नेमा खनाल आफैँ दंग परेको बताउँछन्। दर्शकका प्रतिक्रियालाई उनले सकारात्मक रूपमा लिएका छन्।
फिल्ममा फेरि खगेन्द्र लामिछानेकै प्रमुख भूमिका छ। किन हरेक फिल्ममा खगेन्द्रलाई नै लिनुहुन्छ भन्ने प्रश्नमा निर्देशक खनालले भने- ‘मलाई अभिनेता चाहिएको थियो। मलाई खगेन्द्रजी नै चाहिएको थियो । अरुलाई भनेको भए नाई भन्नु हुन्थ्यो होला। सुखमा सबै जना हुन्छन्, तर दुःखमा कसले साथ दियो भन्ने पनि हो,’उनले थपे, ‘पशुपति प्रसादपछि पनि उनीसँगको यात्रा टुटेको छैन, किनकि खगेन्द्रजस्ता कलाकारले फिल्ममा जीवन दिन्छन्।’
‘के डेरा के घर : घर नम्बर २’ अघिल्लो ‘के घर के डेरा ’कै सिक्वेल हो त ? खनाल भन्छन्, होइन। ‘पहिलाको के घर के डेरा को सिक्वेल यो होइन। यो छुट्टै कथा हो,’ उनले स्पष्ट पारे।
यो फिल्ममा साहित्यकार बुद्धिसागरको लेखन छ। निर्देशक खनाल भन्छन्- अर्काको लेखनमा काम गर्नु आफैँमा चुनौतीपूर्ण रहेछ। उनले भने, ‘आफूले लेखेको स्क्रिप्टमा भन्दा मैले बुद्धिसागरले लेखेकोमा मिठास पाएँ। साहित्यकारले लेखेकोमा चुनौती पाएँ र सिक्ने मौका पनि पाएँ।’
केही दिनअघि सार्वजनिक भएको टिजरले सहरी मध्यमवर्गीय परिवारले भोग्ने जीवनसंघर्ष प्रस्तुत गर्छ।
फिल्मले "घर बनाउने" भन्ने परम्परागत विचारलाई चुनौती दिने दाबी गर्दै खनाल भन्छन्, ‘घर बनाउनुपर्छ भन्ने भाष्यलाई यो फिल्मले चिर्छ,’ उनले थपे, ‘घर बन्नका लागि इँटा र भौतिक रूपमा मात्रै होइन, घर बन्नका लागि मन पनि चाहिन्छ भन्ने हो। यो फिल्म मनबाटै निर्देशन गरेको फिल्म हो।’
फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, र आर्यन सिग्देलको अभिनय रहेको छ। फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी रहेको छ भने कार्यकारी निर्माता युवराज कार्की हुन्। एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा फिल्म निर्माण भएको छ।
वैशाख २६, २०८२ शुक्रबार २०:३८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।