दुई ठूला दल देशलाई ध्वस्त पार्ने योजनामा रहेको सांसद सिंहको आरोप

दुई ठूला दल देशलाई ध्वस्त पार्ने योजनामा रहेको सांसद सिंहको आरोप

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दुई ठूला दल देशलाई ध्वस्त पार्ने योजनामा रहेको आरोप लगाए।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागवण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताए। 

उनले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताए।   

‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो ।  तर दुई दलको भागवण्डाको झगडाले अहिलेसम्म पुगेन । त्यसको आर्थिक असर कति पर्छ बैंकहरूसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन । मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ,’ उनले थपे,‘यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो < दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे देशलाई पनि ध्वस्त पार्ने सहमतिमा छन् । हामी राजा जस्तै अगाडि पछाडि गाडि लिएर घुमौं । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुइवटै यसमा दोषी छन् ।’  

यस्तै उनले खेतिपातीको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भइरहेको बताए। 

उनले किसानले दूधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषी रहेको भन्दै बिचौलियाको मात्र सरकार रहेको बताए। 

वैशाख २६, २०८२ शुक्रबार १७:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।