द वायर भारतमा प्रतिबन्धित, सरकारले नखुल्ने बनायो

काठमाडौं : भारत सरकारले भारतीय अनलाइन न्युज पोर्टल द वायरलाई भारतमा अवरुद्ध गरेको मिडियाले जानकारी दिएको छ। द वायरमा राखिएको सूचनामा भारतको संविधानद्वारा सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन गर्दै, भारत सरकारद्वारा भारतभर पहुँच बन्द गरिएको उल्लेख गरिएको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच वायरले सरकारको दाबीमा मात्र आधारित नभई समाचार सम्प्रेषण गरिरहेको छ। पाकिस्तानमाथि भारतले गरेको आक्रमणबारे आम नागरिकको धारणादेखि आलोचनात्मक सामग्री प्रकाशित गर्दै आएको द वायरलाई सरकारले भारतमा नखुल्ने बनाएको हो।
‘इन्टरनेट सेवा प्रदायकहरूले सूचना प्रविधि ऐन, २००० अन्तर्गत इलेकट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको आदेश अनुसार द वायरलाई अवरुद्ध गरिएको’ जानकारी दिएको सूचनामा उल्लेख छ।
‘भारतका लागि अहिलेको संवेदनशील समयमा जब विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र यथार्थपरक समाचार तथा सूचनाका स्रोतहरू मुलुकका सबैभन्दा ठूलो सम्पत्ति हुन्, यस्तो स्पष्ट सेन्सरशिपको हामी कडा विरोध गर्छौँ’ सूचनामा भनिएको छ।
द वायरले यो मनपरी र अस्पष्ट निर्णयविरुद्ध आवश्यक सबै कानुनी र व्यावहारिक कदम चाल्ने बताएको छ।
वैशाख २६, २०८२ शुक्रबार १५:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।