भारत-पाकिस्तान युद्धमा सुरक्षा योजना बनाउन संसद्को माग, ८० विद्यार्थीलाई पाकिस्तानबाट उद्धारको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले भारत–पाकिस्तानबीचको युद्ध भए नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरबारे योजना बनाउन माग गरे।
प्रतिनिधि सभामा बोल्दै उनले पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावको आकलन गरेर योजना बनाउन र पाकिस्तानमा अध्ययनरत ८० नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह गरे।
‘भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।’
उनले काश्मीरमा भएको आतङ्कवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको समेत बताए। आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्ने बताए।
‘एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम काश्मीरमा भएको आंतकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा निन्दा व्यक्त गर्दछ,’ उनले भने ‘आंतकवादले कसैको पनि हित गर्दैन। पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको छ। आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्दछ।’
वैशाख २६, २०८२ शुक्रबार १५:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।