युनियनले पहिलो ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्दै

युनियनले पहिलो ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्दै

काठमाडौं : नेपाल प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युनियनले समिटबारे जानकारी दियो।

युनियनका अनुसार समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ देखि ३० सम्म चल्नेछ। विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारे दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति रहनेछ।

समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्न परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिए।

वैशाख २७ गते ललितपुरको होटेल हिमालयमा बिहान ९ बजे समिटको औपचारिक उद्घाटन हुनेछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा उद्घाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत विभिन्न देशका पत्रकारहरूबाट सम्बोधन गर्नेछन्।

उद्घाटन समारोह पछि ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिताको कति नजिक, को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुति तथा बहस हुनेछ।

विदेशी पत्रकारसहित करिब एक सय पचास पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ।

समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुति तथा बहस हुने आयोजकले जानकारी दिए। उक्त दिन पहिलो सत्र ‘जलवायु सङ्कट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यु मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति तथा छलफल हुनेछ।

समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङसम्म मिडिया यात्रा हुनेछ भने चौथा दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागितामा ‘जलवायु सङ्कटमा मिडियाको भूमिका’ बारेमा बृहत् अन्तरक्रिया हुनेछ। सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरी कार्यक्रम सम्पन्न गर्ने युनियनले जानकारी दिएको छ।

वैशाख २६, २०८२ शुक्रबार १५:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।