कल्याणकारी कोषको साढे २ करोड लुटिँदा ६ वर्षसम्म चालै पाएन सेनाले, पूर्व ‘जमदार’ ले खुलाए लुटको शैली

कल्याणकारी कोषको साढे २ करोड लुटिँदा ६ वर्षसम्म चालै पाएन सेनाले, पूर्व ‘जमदार’ ले खुलाए लुटको शैली

काठमाडौं नेपाली सेनामा करिब दुई दशक काम गरेर ‘जमदार’ पदबाट अवकाश लिएका आत्मराम थापा अहिले सैनिक कल्याणकारी कोषमा करोडौं रुपैयाँको अनियमितता प्रकरणका मुख्य अभियुक्तका रूपमा प्रहरी हिरासतमा छन्।

तरउनको बयान र प्रमाणले सैनिकको प्रशासनिक संरचना कतिसम्म कमजोर रहेछ भन्ने छर्लङ्ग भएको छ। चार जनाको संलग्नतामा सैनिक कल्याणकारी कोषको करिब साढे २ करोड रकम ६ वर्ष लगाएर अनियमितता गरियो। तर यसबारे सैनिक प्रशासनले पत्तै पाएन।

यो अनियमितताको शृङ्खला २०७४ देखि २०७५ सम्म भएको देखिन्छ। अनियमितता करिब ६ वर्षपछि मात्र सार्वजनिक भयो। लामो समयसम्म यो गतिविधि कोषभित्रै गुपचुप लुकाइयो।

अहिले यो घटनामा तत्कालीन जमदार थापा मात्र प्रहरी हिरासतमा छन्। एक जना पूर्व सैनिक फरार छन्। सेनामै बहालमा रहेका दुई जनामाथि सेनाले नै कोर्ट अफ इन्क्वारी राखेर छानबिन गरिरहेको भन्दै उनीहरुको संलग्नताबारे अनुसन्धान गर्न दिएको छैन।

कल्याणकारी’ कोषको भित्री चलखेल

सैनिक कल्याणकारी कोष नेपाली सेनाबाट अवकाश पाएका, दिवङ्गत भएका वा अपाङ्ग भएका सैनिक तथा तिनका परिवारको जीवनस्तर सुधार्न बनाइएको विशेष सामाजिक सुरक्षा कोष हो।

यो कोषले बर्सेनि अर्बौँ रुपैयाँको कारोबार गर्छ। सेनाको कोष र खर्चबारे बेलाबखत विवादहरू सार्वजनिक हुने गरेका थिए नै। यो घटनाले पारदर्शितामाथि थप गम्भीर प्रश्न उठाएको छ।

जमदार’ आत्मराम मोहरा कि योजनाकार?

आत्मराम थापा २०५९ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए। उनी २०७५ सालसम्म सैनिक सेवामै थिए र अवकाश पाए। अवकाश अघिसम्म उनी सैनिक कल्याणकारी कोष अन्तर्गत भद्रकालीस्थित ‘आवास तथा बिमा शाखा’मा कार्यरत थिए।

यही कार्यालयमा अवकाश प्राप्त र दिवङ्गत सैनिक परिवारलाई आवास तथा बीमा बापतको रकम वितरण गरिन्थ्यो।

प्रहरी अनुसन्धान अनुसार, २०७४ मङ्सिर १३ देखि २०७५ भदौ २६ सम्मको अवधिमा उनीहरूले १ सय ४४ वटा फर्जी चेकमार्फत १ करोड ७४ लाख २१ हजार ३ सय २९ रुपैयाँ ८८ पैसा र ४० वटा अन्य चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा अनियमित तरिकाले निकालेका थिए।

यी दुईमध्ये धेरैजसो चेकको तयारीमा आत्मरामको सिधा संलग्नता देखिन्छ। कुल अनियमित रकम २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा रहेको छ।

तर आत्मरामले प्रहरी समक्ष दिएको बयानमा उनी आफूभन्दा माथिल्लो तहका अधिकारीहरूको निर्देशनमा काम गर्दै आएको र आदेशअनुसार चेक तयार गरेको दाबी गरेका छन्।

उनका अनुसार, तत्कालीन शाखा प्रमुख सेनानी लक्ष्मण अधिकारी, सेनानी बोधराज कार्की र प्रमुख सेनानी रोशन खड्का समेतको निर्देशनमा उनीबाट चेक लेख्न लगाइन्थ्यो। उनले चेकबाट निकालेको रकम सम्बन्धित अधिकारीहरूलाई बुझाएको दाबी गरेका छन्।

फर्जी नामहरूको लामो सूची

थापाले भुक्तानीका लागि तयार गरेका चेकहरू प्रायः काल्पनिक वा दोहोरो नाममा थिए। राम थापा, रामकृष्ण थापा, तप नारायण श्रेष्ठ, क्षेत्रबहादुर थापा, जयकृष्ण थापा, गोपाल लामिछाने, चन्द्रबहादुर कार्की लगायतका नामहरूको प्रयोग गरिएको थियो, तर ती व्यक्तिहरू सैनिक अभिलेखमा वास्तविक लाभग्राहीका रूपमा देखिँदैनन्।

यो काम गर्न ‘नामको सूची’ समेत माथिल्लो तहबाट दिइने गरेको आत्मरामको भनाइ छ।

सबै चेकमा आत्मरामको व्यक्तिगत मोबाइल नम्बर लेखिएको छ। यही मोबाइल फोन हिरासतका क्रममा बरामद गरिएको छ, जसबाट सम्बन्धित बैङ्कहरूसँग चेक नगद गरिएको विवरणहरू मिलाइएको देखियो।

चेक भुक्तानीका लागि प्रयोग भएको बैंक खाता नेपाल बैंक लिमिटेड अन्तर्गतको सैनिक शाखाको हो।

लक्ष्मण फरार, बाँकी दुईमाथि कोर्ट अफ इन्क्वायरी

अनुसन्धानमा नाम जोडिएका अर्का व्यक्तित्व सेनानी लक्ष्मण अधिकारी हाल अवकाश प्राप्त गरी फरार छन्। तर घटनाको समयमा उनी शाखा प्रमुख थिए र आत्मराम थापाको अनुसार सबै आर्थिक निर्णय उनको निर्देशनमा हुन्थ्यो।

बोधराज कार्की र रोशन खड्का भने हाल पनि नेपाली सेनामा बहालमा छन्। उनीहरूमाथि नेपाली सेनाको ‘कोर्ट अफ इन्क्वायरी’ मार्फत अनुसन्धान भइरहेको छ।

माथिबाटै निर्देशन आएको हो’

आत्मरामको बयान अनुसार  उनी कार्यालयका सबैभन्दा कनिष्ठ व्यक्ति थिए र सैनिक आदेश पालना गर्नु आफ्नो कर्तव्य थियो। चेक लेख्दा आफूले कुनै पैसा नराखेको, नगद सबै माथिल्लो तहका अधिकारीहरूलाई बुझाएको, र आफूलाई पेट्रोलको कुपन र नास्ताको पैसा मात्र दिइएको उनले बयानमा उल्लेख गरेका छन्।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्र अनुसार, आत्मराम थापा र लक्ष्मण अधिकारीमाथि मुलुकी अपराध संहिताको धारा २५२ अनुसार ‘आपराधिक विश्वासघात’ अभियोग लगाइएको छ। साथै, उनीहरूसँग २ करोड २१ लाखभन्दा बढीको रकम पीडित (नेपाल सरकार) लाई भराइ दिनुपर्ने मागदाबी गरिएको छ।

वैशाख २६, २०८२ शुक्रबार १४:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।