फिल्म ‘जार’ र ‘ऊनको स्विटर’ हलमा भिड्दा झुमा लिम्बुलाई सकस

फिल्म ‘जार’ र ‘ऊनको स्विटर’ हलमा भिड्दा झुमा लिम्बुलाई सकस

काठमाडौं : प्रचारका हिसाबमा जार अनि ऊनको स्विटर निकै बलिया देखिएका थिए। दुवै फिल्ममा सङ्गीत रहेकाले प्रचारमा झुमा लिम्बु निकै सक्रिय थिइन्।

तर शुक्रवार हलमा लाग्दा भने यी दुवै फिल्म एक अर्काको प्रतिस्पर्धी भए। दुवै फिल्मको प्रचारमा अन्य कलाकार भन्दा पनि झुमा नै व्यस्त थिइन्। अझ काफ्ले गीतका कारण त ‘ऊनको स्विटर’ को प्रचारको सबै जिम्मेवारी नै झुमाको काँधमा आइलागेको थियो।

‘ऊनको स्विटर’को प्रचारबाट फुर्सद निकालेर उनी जारको प्रचारमा पनि संलग्न भएकी थिइन्। उनी यही फिल्मको प्रचारमा सिक्किमसम्म पनि गइन्। तर हलमा लाग्दा भने दुवै फिल्म प्रतिस्पर्धी भइदिए।

जार फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। ‘ऊनको स्विटर’ नवीन चौहानले निर्देशन गरेका थिए। ‘ऊनको स्विटर’ अन्तर्जातीय प्रेमकथामा बनेको फिल्म हो। यो पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको थियो।

यसमा सुजन चापागाईँ र झुमा लिम्बूको सङ्गीत र नवीन चौहानको लेखन छ। यसमा विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित प्रेमकथा नै हो। ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको अभिनय छ। यसमा झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत छ।

‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। 

वैशाख २६, २०८२ शुक्रबार १३:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।