'अपरेशन सिन्दूर' को ट्रेडमार्क लिने रिलायन्सको योजना असफल, आलोचना बढेपछि ब्याक भयो

'अपरेशन सिन्दूर' को ट्रेडमार्क लिने रिलायन्सको योजना असफल, आलोचना बढेपछि ब्याक भयो

एजेन्सी : भारतीय अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको शक्तिशाली कम्पनी रिलायन्स इन्डस्ट्रिज अन्तर्गतको जियो स्टुडियोजले अपरेशन सिन्दुरको ट्रेडमार्क आफ्नो बनाउन आवेदन दियो। सरकारी वेबसाइटमा प्रकाशित सार्वजनिक ट्रेडमार्क रेकर्डअनुसार रिलायन्सले पहिलो पटक बुधवार नै ट्रेडमार्क आवेदन दायर गरेको थियो। आवेदनमा उल्लेख गरिएअनुसार ट्रेडमार्कलाई अडियो, भिडियो, प्रकाशन, कन्सर्ट र अन्य "मनोरञ्जन प्रदान" गर्ने उद्देश्यका लागि प्रयोग गरिने उल्लेख थियो।

पाकिस्तानविरुद्ध भारतले सुरु गरेको सैन्य अप्रेसनको नामलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न खोजेको भनेर रिलायन्सको व्यापक आलोचना भयो। अनि कम्पनी पछि हट्दै एक कनिष्ठ कर्मचारीद्वारा गल्ती पूर्वक ट्रेडमार्कको निवेदन  दायर गरिएको भन्दै "अपरेशन सिन्दूर" नामक ट्रेडमार्कको आवेदन फिर्ता लिएको जनायो।

"अपरेशन सिन्दूर" भारतले इस्लामाबादविरुद्ध बुधवार बिहानै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा क्षेप्यास्त्र आक्रमण गरेर सुरु गरेको सैन्य कारबाहीको नाम हो।

कम्पनीले एक्स (ट्विटर) मा लेख्यो "रिलायन्स इन्डस्ट्रिजको अपरेशन सिन्दूरलाई ट्रेडमार्क गर्ने कुनै इच्छा छैन, जुन अहिले राष्ट्रिय चेतनाको अंश बनेको छ र भारतीय वीरताको भावनात्मक प्रतीक हो।"

"रिलायन्स इन्डस्ट्रिजको एकाइ जियो स्टुडियोजले आफ्नो ट्रेडमार्क आवेदन फिर्ता लिएको छ, जुन अनधिकृत रूपमा एक कनिष्ठ व्यक्तिद्वारा अनजानमा दायर गरिएको थियो," कम्पनीले लेखेको छ।

वेबसाइटमा आवेदनका स्क्रिनशटहरू द्रुत गतिमा अनलाइनमा फैलिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले कम्पनीको आलोचना गरेका थिए।

भारतको पूर्व सैन्य अभियानहरूमा आधारित धेरै बलिउड फिल्म निर्माण भएका छन्, जसमा "उरी" पनि समावेश छ। रिलायन्सले यही हेरेर पहिल्यै ट्रेडमार्क आफ्नो नाममा लिएर अन्यलाई व्यापारिक प्रयोजनमा यसको नाम प्रयोग गर्नबाट रोक्ने रणनीति लिएको देखिन्छ। तर तीव्र आलोचनापछि फिर्ता हुन बाध्य भयो।

वैशाख २६, २०८२ शुक्रबार १३:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।