पाकिस्तानका सबै विमानस्थल सञ्चालनमा छन् : पीएए

एजेन्सी : पाकिस्तान विमानस्थल प्राधिकरण(पीएए)ले देशभरका सबै विमानस्थलहरू सञ्चालनमा रहेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता सैफुल्लाह खानले स्थानीय डनन्यूजसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन्। उनले उडान रद्द गर्ने वा नगर्ने निर्णय सम्बन्धित एयरलाइन्सको नीतिमा भर पर्ने बताए।
‘देशभरका सबै विमानस्थलहरू खुलेका छन्,’ उनले भने, ‘उडान रद्द गर्ने निर्णय हरेक एयरलाइन्सले आफ्नो सुरक्षात्मक मूल्यांकन अनुसार लिन्छ।’
तर, अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले भने पाकिस्तानको हवाई सुरक्षालाई लिएर चासो व्यक्त गरेका छन्।
एमिरेट्स एयरलाइन्सले मे १० सम्मका लागि पाकिस्तानभरका सबै उडानहरू स्थगित गरेको घोषणा गरेको छ। कम्पनीले एक विज्ञप्तिमार्फत पाकिस्तानको हवाई क्षेत्र र विमानस्थलमा पहुँच सम्बन्धी जारी अन्योलका कारण यस्तो निर्णय लिएको जनाएको छ।
त्यसैगरी, कतार एयरवेजले पनि पाकिस्तान र भारततर्फका उडानहरू मे ८ देखि १० सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। कम्पनीले दोहा–लाहोर, इस्लामाबाद, मुल्तान, पेशावर, सियालकोट र अमृतसरबीचका आवतजावतका सबै उडानहरू तीन दिनका लागि स्थगित गरिएका छन्।
हालसम्म पाकिस्तान सरकारले देशको हवाई क्षेत्रको सुरक्षासम्बन्धी स्पष्ट जानकारी दिएको छैन। तर, केही दिनयता राजनीतिक अस्थिरता र सुरक्षाजन्य गतिविधिका कारण विमान सेवा प्रभावित हुँदै आएको छ।
वैशाख २६, २०८२ शुक्रबार १३:१२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।