भारत-पाकिस्तान तनाव : प्रतिशोधको प्रतिज्ञाको मारमा आम नागरिकको जीवन

भारत-पाकिस्तान तनाव : प्रतिशोधको प्रतिज्ञाको मारमा आम नागरिकको जीवन
भारतीय मिसाइलको आक्रमणमा परेर मारिएका पाकिस्तानी बालबालिकाहरूको सम्झनामा तस्बिर राखेर मैनबत्ती बाल्दै बालबालिकाहरू छन्। मे ८ मा भारत र पाकिस्तानले एक अर्कालाई ड्रोन आक्रमण गरेका छन्। फोटो : फारुख नाईम / एएफपी

एजेन्सी : पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका ५० वर्षीय सफीर अहमद अवानको घर नजिकै रहेको मस्जिद भारतीय आक्रमणको निसानामा पर्यो। उनकी १५ वर्षीया छोरी गोलाबारीमा घाइते भइन्।

‘६ र ७ मे को रातमा, भारतीय सेनाले हाम्रो छिमेकमा रहेको मस्जिदलाई लक्षित गर्यो। मेरो घरबाट जम्मा १० मिटर टाढा। पहिलो मिसाइल लागेपछि, म बाहिर दौडिएँ र छोरीले मलाई पछ्याइन्। त्यही बेला दोस्रो मिसाइल आयो, एक टुक्रा उनको छातीमा लाग्यो। उनले अस्पतालमा दुई दिन बिताइन्’, उनले भने।

गोलाबारी र बम वर्षा जारी रहँदा स्थानीयहरू आफ्ना घर छोड्दै घरमुनिको बङ्करहरूमा बसे। भारत-प्रशासित कश्मीरमा एलओसी देखि पूर्वतर्फ करिब १० किलोमिटर (६.२ माइल) दूरीमा उरी नगरमा बस्ने नदीम अकबरका अनुसार बिहीबार राति गोलाबारीको नयाँ चरण सुरु हुनुभन्दा केही मिनेटअघि उनी आफ्नो परिवारको केही सदस्यहरूसँग घर छोडे।

‘मेरा अन्य परिवारका सदस्यहरू जो पछि बसे, उनीहरूले गाउँमा भूमिगत बंकरमा रात बिताउनु पर्यो। त्यहाँ ४० जना थिए। रातभर गोलाबारी जारी रह्यो। उनीहरूलाई धेरै गाह्रो भयो’, अकबरले भने।

उरीबाट आएको भिडियोले भवनहरू टुक्रा-टुक्रा भएको र सम्पत्ति नष्ट भएको देखाउँछ। जम्मु शहरकी वकिल दीपिका पुष्कर नाथका अनुसार उनी आफ्नो बगैँचामा थिइन् जब उनले गोलाबारी देखिन्।

‘हामी त्रासमा छौँ। के कसैले युद्ध सुरू गर्नुअघि अनुमति लिन्छ?’ उनले उनले भनिन्, ‘हामीले सोच्यौँ कि हाम्रो अन्त्य भए हुन्थ्यो। वास्तवमै युद्ध सुरु भएको अनुभव भयो।’

दशकौं पुरानो द्वन्द्व
भारत र पाकिस्तानबीचको दशकौं पुरानो द्वन्द्वमा विवादित कश्मीरलाई विभाजन गर्ने खतरनाक सीमाभन्दा बढी शत्रुतापूर्ण क्षेत्र अरू मानिँदैन। भारतले यो हप्ताको सुरूमा आफ्नो छिमेकी मुलुकमा व्यापक हवाई आक्रमण गरेदेखि, डी-फ्याक्टो सीमा, जसलाई नियन्त्रण रेखा (एलओसी) भनिन्छ, त्यहाँको शत्रुताले विस्फोटक रूप लिएको छ, जसले दुवै तर्फका परिवारहरूलाई भयवित बनाएको छ।

बुधबार भारतीय आक्रमणले पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिशोध लिने प्रतिज्ञा गरेको थियो। भारतले भारत-प्रशासित कश्मीरमा गत महिना आतंकवादीहरूद्वारा भएको नागरिक हत्याकाण्डको जवाफमा ‘आतंकवादी पूर्वाधार’ भनेको ठाउँमा आक्रमण गरेको बताएको थियो। भारतले पाकिस्तानलाई यसमा संलग्न भएको आरोप लगायो। पाकिस्तानले आरोप अस्वीकार गरिरहेको छ।

आरोप-प्रत्यारोपमा दुवै देश
भारतले पाकिस्तानमाथि आफ्नो सीमामा ड्रोन र ‘अन्य हतियारहरू’ प्रयोग गरेर रातभर आक्रमण गरेको आरोप लगाएको छ। पाकिस्तानी सुरक्षा स्रोतका अनुसार पाकिस्तानले कश्मीरको विवादित सीमामा भारतीय सेनाका चेकपोस्टहरू नष्ट गरेको छ। बुधबारदेखि द्वन्द्व बढेपछि दुवै देशले एक अर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्।

लडाकु विमान खसालिएको दाबी
अमेरिकी अधिकारीको अनुसार बुधवार भारतीय हवाई आक्रमणको क्रममा पाकिस्तानी सेनाले एक भारतीय विमान खसालेको पुष्टि भएको छ। पाकिस्तानले भारतीय आक्रमणको प्रतिशोधमा पाँच भारतीय वायु सेनाका जेटहरू खसालेको दाबी गरे पनि अन्य पुष्टि हुन सकेको छै। तीन फ्रान्सेली-निर्मित युद्धक विमानहरू खसालेको पाकिस्तानको दाबी छ।

भारतले पनि पाकिस्तानले प्रहार गरेको मिसाइल निष्क्रिय गरेको, ड्रोनहरू खसालेको र एक पाइलट नियन्त्रणमा लिएको दाबी गरिरहेको छ। तर त्यसको पुष्टि भएको छैन।

मृत्यु संख्या बढ्दो
पाकिस्तानले कश्मीरको डी-फ्याक्टो सीमामा ४० देखि ५० भारतीय सैनिकहरू मारेको बताएको छ। भारतको अनुसार भारत-प्रशासित कश्मीरमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ। बुधवार, पाकिस्तानी सेनाका अनुसार भारतको आक्रमणमा कम्तीमा ३१ नागरिकहरू मारिएका थिए।

विस्फोट र आतङ्क

भारतीय सेनाका प्रवक्ताका अनुसार बिहीबार भारत-प्रशासित कश्मीरको जम्मु शहरमा विस्फोटका आवाजहरू सुनिएका थिए। पत्रकार र स्थानीय बासिन्दाहरूले शहरमा ‘आतङ्क’ र ‘स्पष्ट तनाव’ बारे बताएका छन्।

एक प्रहरी अधिकारी अनुसार भारत-प्रशासित कश्मीरको उरीमा भारी गोलाबारी भएको छ। एक प्रहरी स्रोतका अनुसार, भारतको पन्जाब राज्यको एक शहर पठानकोटमा पनि प्रहरीले विस्फोटका खबरहरू प्राप्त गरेका छन्।

खतरनाक सीमा
लाइन अफ कन्ट्रोल विश्वका सबैभन्दा बढी सैन्यीकरण गरिएको सीमाहरू मध्ये एक हो र त्यहाँ गोलाबारी हुनु असामान्य होइन। गत महिना कश्मीरमा भारतीय पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएपछि, जसलाई भारतले पाकिस्तानमाथि दोष लगायो र इस्लामावादले अस्वीकार गर्यो। यस हप्ता पाकिस्तानमाथि भएको हवाई आक्रमणपछि तनाव बढेको छ।

वैशाख २६, २०८२ शुक्रबार १३:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।