दार्चुला-टिङ्कर सडक निर्माण, सेनाले दुईतर्फबाट ट्रयाक खोल्न थाल्यो

दार्चुला-टिङ्कर सडक निर्माण, सेनाले दुईतर्फबाट ट्रयाक खोल्न थाल्यो

दार्चुला : महाकाली करिडोरअन्तर्गतको दार्चुला-टिङ्कर सडक निर्माणमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्ने काम थालेको छ। अहिले व्यास गाउँपालिका-१ को छाङ्गरुस्थित गागा र वडा नं. २ को दुम्लिङतर्फबाट एकसाथ काम अगाडि बढाइएको हो।

यसअघि तुसारपानी हुँदै दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुजस्ता क्षेत्रमार्फत मात्रै निर्माण कार्य भइरहेको थियो। करीब ७९ किलोमिटर लामो सडकको ट्रयाक खोल्न नेपाली सेनाको निर्माण टोली खटिएको छ। व्यास-३ को तुसारपानीबाट कामको जिम्मा पाएको सेनाले हालसम्म १५.२ किलोमिटर ट्रयाक निर्माण गरिसकेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा १३.४ किलोमिटर ट्रयाक खोलिएकोमा दुई किलोमिटर ट्रयाक स्तरोन्नति गरिएको हो। चालु वर्षमा १.८ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ भने १.२ किलोमिटर स्तरोन्नति भइसकेको छ।

तर, बजेटको अभावले कामको गति ढिला भएको छ। चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ मात्रै विनियोजन भएकोमा निर्माण रोकिने अवस्थामा पुगेपछि सरकारले थप पाँच करोड रुपैयाँ उपलब्ध गराएको हो। पछिल्लो बजेटले छाङ्गरुमा निर्माण क्याम्प, आवश्यक उपकरण (स्काभेटर, कम्प्रेसर मेसिन, जिलेटिन आदि) र सामग्री ढुवानीमा खर्च गरिएको छ।

सेनाले फतङगाडमा २०० मिटर, आतुङती क्षेत्रमा ५०० मिटर, तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिसकेको छ। तल्लो क्षेत्रमा तम्बाकु जोड्ने गरी थप २०० मिटर ट्रयाक निर्माणको काम भइरहेको प्रवक्ता केसीले जानकारी दिए।

‘दुवैतर्फबाट ट्रयाक जोड्ने गरी काम भइरहेको छ,” उहाँले भन्नुभयो, “छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खोल्ने लक्ष्य लिएको छ। माथिल्लो क्षेत्रमा कडा चट्टान नभएकाले तुलनात्मक रूपमा काम सजिलो छ।’

व्यास गाउँपालिका-३ तुसारपानीदेखि माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु, तम्बाकु हुँदै सडक निर्माण भइरहेको छ। माघ महिनाको अन्त्यतिरदेखि शून्यविन्दुबाट पाँच किलोमिटर सडकमा सवारी सञ्चालन थालिएको छ। अहिले तुसारपानीदेखि मालगाउँसम्म गाडी जानसक्छ।

२०७७/७८ सालदेखि सुरू गरिएको सडक निर्माणमा पाँच वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि बजेट अभावले १५ किलोमिटर मात्र ट्रयाक खुलेको छ। निर्माणमा संलग्न एक इञ्जिनियरका अनुसार समयमै बजेट सुनिश्चित नभए लक्ष्य पूरा गर्न सकिने सम्भावना कम छ।

उपकरण ढुवानी नहुञ्जेल व्यास-२ बाट मजदुर परिचालन गरी ट्रयाक खन्न थालिएको छ। हाल स्थानीयवासी र सेना मिलेर तीन-चार दिनदेखि संयुक्त रूपमा निर्माण कार्य अघि बढाइरहेका छन्।

वडासदस्य हितेश बुढाथोकीले ढिलै भए पनि सेनाले दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गर्दै पर्याप्त बजेटको आवश्यकता औँल्याए। वडा अध्यक्ष अशोकसिंह बोहराले गत फागुनमा प्राप्त पाँच करोड रकम पर्याप्त नभएको बताउँदै प्राथमिकताका साथ थप बजेट विनियोजन गर्न आग्रह गरे।

यसैबीच, वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको नेतृत्वमा एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी तुसारपानी-टिङ्कर सडकका लागि कम्तीमा ५० करोड रुपैयाँ विनियोजन गर्न माग गरेको छ।

ठगुन्नाले भारतले लिपुलेक-कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला नेपालले पनि ट्रयाक खोल्न आवश्यक बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

वैशाख २६, २०८२ शुक्रबार १०:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।