आईपीएलबारे निर्णय गर्न बीसीसीआईको आपतकालीन बैठक बस्दै

एजेन्सी : पाकिस्तानको आक्रमणका कारण धर्मशाला मैदानमा भइरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि बाँकी खेलबारे निर्णय गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को बैठक आज बस्दैछ।
बीसीसीआईले आईपीएलका बाँकी खेलहरू आयोजना गर्न आईपीएल समितिसँग आपतकालीन अनलाइन बैठक बोलाएको छ। सोही बैठकपछि आईपीएल हुने वा नहुने भन्नेबारे निर्णय हुनेछ।
हिजोको खेल रोकिएपछि खेलाडी र सहयोगी कर्मचारीहरूलाई धर्मशालाबाट विशेष रेलमार्फत बाहिर त्यस क्षेत्रबाट बाहिर निकालिने दैनिक भास्करमा समाचार लेखेको छ। उसका अनुसार विशेष रेल शुक्रबार पठानकोटबाट छुट्नेछ।
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले पनि यसको पुष्टि गर्दै भनेका छन्, ‘हामी धर्मशालाबाट सबैलाई बाहिर निकाल्न विशेष रेलको व्यवस्था गर्दैछौं। प्रतियोगिताबारे निर्णय आज लिइनेछ। हाल खेलाडीहरूको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ। भारत-पाकिस्तान तनावका कारण धर्मशालामा खेल आयोजना गर्न सम्भव थिएन।’
पाकिस्तानको आक्रमणपछि, मैदानका सबै फ्लडलाइटहरू निभाइएको थियो भने सबै फ्यानहरूलाई मैदानबाट बाहिर निकालिएको थियो। त्यो समय फ्यानले पाकिस्तानविरोधी नारा समेत लगाएका थिए।
उता, पाकिस्तानमा जारी पाकिस्तान प्रिमियर लिग भने युएईमा सारिएको छ। भारतले रावलपिन्डीको क्रिकेट स्टेडियममा ड्रोन आक्रमण गरेपछि पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगितालाई युएईमा सार्ने निर्णय गरेको हो। खेलको तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ।
वैशाख २६, २०८२ शुक्रबार ०९:३४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।