एकअर्कामाथिको आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई अमेरिकाको आह्वान

एजेन्सी : भारत र पाकिस्तानबीच जारी तनावका बीच अमेरिकाले दुवै देशलाई एकअर्कामाथि आक्रमण बन्द गर्न आह्वान गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा आक्रमणले समाधान ननिकाल्ने भन्दै एकअर्कामाथिको आक्रमण बन्द गर्न आग्रह गरिन्।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने कुरा मध्यपूर्वले पुष्टि गरिसकेको छ।’
उनले अगाडि भनिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन्। नयाँ विचार र कूटनीति नै पुस्तादेखि चल्दै आएको हिंसा र समस्याहरूलाई रोक्ने एक मात्र समाधान हो।’
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा उनले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, हामी यसको जानकारी साझा गर्दैनौँ। यो हाम्रो नीति हो।’
नेताहरूले व्यक्तिगत स्तरमा कुरा गरिरहेका बेला त्यस्ता कुरा मिडियामा सार्वजनिक गर्न आवश्यक र महत्त्वपूर्ण नभएको उनको भनाइ छ।
यद्यपि, ट्यामी ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको न त पुष्टि गरे न त अस्वीकार नै गरिन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको पनि बताए।
यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे। उनले प्रत्यक्ष वार्तामा पनि जोड दिए।
वैशाख २६, २०८२ शुक्रबार ०९:१९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।