भारतीय ड्रोन आक्रमणमा दुई पाकिस्तानी नागरिकको मृत्यु, पाकिस्तानी मन्त्रीले भने- ‘अवस्था झनै खराब हुन्छ’

एजेन्सी : भारतीय ड्रोन आक्रमणमा पाकिस्तानमा दुई सर्वसाधारणको मृत्यु भएको छ।
बिहीबार गरेको ड्रोन आक्रमणमा कम्तिमा दुई नागरिकको मृत्यु भएको पाकिस्तानका सूचनामन्त्रीले पुष्टि गरेका हुन्।
उनले अहिलेसम्म देशले भारतको आक्रमणको जवाफमा रक्षात्मक कारबाही मात्र गरिरहेको बताए।
अल-जजीराका अनुसार दुवै पक्षबाट भएको कारबाहीमा हालसम्म कम्तिमा ४८ जनाको मृत्यु भएको खबर आएको छ।
यी मध्ये बुधबार पाकिस्तानमा भएको भारतीय क्षेप्यास्त्र आक्रमणमा ३२ जनाको मृत्यु भएको थियो।
यी क्षेप्यास्त्रहरूको लक्ष्य पाकिस्तान र पीओकेमा रहेका आतंकवादी लुक्ने ठाउँहरू भएको भारतीय दाबी छ।
यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अल जजीरासँग कुरा गर्दै भारतको कारबाहीका कारण अवस्था झनै खराब हुने बताएका छन्।
उनले भने, ‘अब मलाई कुनै शंका छैन कि स्थिति अझ बिग्रँदै गइरहेको छ, किनकि भारतले जमिनमा र आज पाकिस्तानभरि ड्रोन पठाएर हामीमाथि निरन्तर आक्रमण गरिरहेको छ।’
उनले अगाडि भने, ‘यसअघि पनि उनीहरूले लगभग ७८ वटा लडाकु विमानबाट आक्रमण गरेका थिए, जसमध्ये हाम्रो वायुसेनाले ५ वटा विमान खसालेको थियो।’
आफूहरू परिस्थितिलाई शान्त पार्न चाहे पनि भारतको निरन्तर आक्रमणले जवाफ दिन बाध्य भएको उनको भनाइ छ।
वैशाख २६, २०८२ शुक्रबार ०७:३१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।