भक्तपुर क्यान्सरको अर्को टेण्डरमा पनि मिलेमतो, एक करोड ९५ लाखको दुई मेसिन खरिदको फायल पीपीएमओले माग्यो

भक्तपुर क्यान्सरको अर्को टेण्डरमा पनि मिलेमतो, एक करोड ९५ लाखको दुई मेसिन खरिदको फायल पीपीएमओले माग्यो

काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालले निश्चित मेसिन उत्पादक कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन नै लक्ड गरेर एक करोड ९५ लाखमा मेसिन खरिद गर्नेगरी भएको टेण्डरको विवाद सार्वजनिक खरिद अनुगमनको कार्यालय (पीपीएमओ)मा पुगेको छ।

भक्तपुर क्यान्सर अस्पतालले टेन्डर आह्वान गरेको ‘फुल्ली अटोमेटेड बयोकेमेस्ट्री एनालाइजर विथ रिएजेन्ट्स’ सम्बन्धी मेसिन र ‘फुल्ली अटोमेटेड केमिलुमिनिस्सेन्स इम्युनोसरी एनालाईजर (क्लिया) मेसिनको टेण्डरमा मिलेमतो देखिएपछि कार्यालयले अस्पतालसँग त्यसबारे सात दिनभित्र जानकारी मागेको छ।

भक्तपुर क्यान्सर अस्पतालले ‘फुल्ली अटोमेटेड बयोकेमेस्ट्री एनालाईजर विथ रिएजेन्ट्स’ सम्बन्धी मेसिनको  ठेक्का (आइएफबी) नम्बर ‘बीसीएच-गुड्स-एनसीबी-०८१-८२-१०’ बारे कार्यालयमा उजुरी परेको थियो। अस्पतालले करिब ९५ लाख २० हजारमा खरिद गर्नेगरी यसको टेण्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ।

‘फुल्ली अटोमेटेड केमिलुमिनेस्सेन्स इम्युनोसरी एनालाईजर (क्लिया) मेसिनको ठेक्का (आइएफबी) नम्बर ‘बीसीएच-गुड्स-एनसीबी-०८१-८२-११’ हो। अस्पतालले करिब ९७ लाख ६०  हजार रकममा यो मेसिन खरिद गर्नेगरी गत चैत २९ मा टेण्डर आह्वान गर्दै खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ। 

निवेदनपछि सार्वजनिक खरिद अनुगमनले वैशाख २२ गते पत्र लेख्दै भक्तपुर अस्पतालसँग सो खरिदको विषयमा जवाफ मागेको छ। 

कार्यालयको पत्रमा निश्चित उपकरणसँग मात्रै हुनेगरी स्पेसिफिकेसन बनाएको भन्ने विषयमा ‘के, कसो भएको हो?’ भन्दै सात दिनभित्र सो खरिदका विषयमा विस्तृत विवरण पठाउन भनिएको छ।

हाल अस्पतालमा ल्याबका मेसिनहरु सञ्चालनमा रहेको र थप मेसिन आवश्यक परे दाता वा कम्पनीहरुले निःशुल्क मेसिन उपलब्ध गराउने प्रतिबद्धता गर्दागर्दै मिलेमतोमा नयाँ मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको दाबी गरिएको छ।

वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल सहित गंगालाल अस्पतालहरुले मेसिन डोनेशनमा लिइरहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा परेको निवेदनमा उल्लेख छ। हाल मात्रै कान्ति बाल अस्पतालले मेशिन निशुल्क लिनेगरी ‘टेस्टबेस्ड’को रुपमा रिएजेन्ट खरिद गर्न टेण्डर आह्वान भएको निवेदनमा उल्लेख छ। 

मेशिन नै निःशुल्क आउने अवस्थामा समेत भक्तपुर क्यान्सर अस्पतालले एक करोड ९५ लाख गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको निवेदनमा उल्लेख छ। 

मेसिन खरिदका लागि पहिला प्राविधिक पास हुनुपर्ने र दोस्रोमा आर्थिक पास हुनुपर्ने शर्त राखेर आह्वान भएको टेण्डरमा प्राविधिक स्पेसिफिकेसन नै निश्चित सप्लायर्स कम्पनीसँगको मेसिनसँग मात्रै मिल्ने गरी  प्राविधिक स्पेसिफिकेसन बनाएको निवेदनमा उल्लेख छ। 

‘पहिला टेक्निकलमा पास गराउनको लागि एबोर्ट कम्पनी र ब्याकमेन कम्पनीको क्याटलगमा उस्तै रहेको शर्त राखी एउटा मात्रै कम्पनीलाई मात्र पास हुनेगरी स्पेक बनाई प्याथोलोजिष्ट डा. सनत चालिसे र निमित्त निर्देशक डा. उज्वल चालिसे मिली आफूलाई चाहेको कम्पनीको मेसिन खरिद गर्न लगाएको’ सार्वजनिक खरिद अनुगमन कार्यालयमा परेको निवेदनमा उल्लेख छ।

निवेदनमा दावी गरे अनुसार उकेराले भक्तपुर क्यान्सर अस्पतालले बनाएको खरिद मापदण्ड र एबोर्ट कम्पनी र ब्याकमेन कम्पनीको क्याटलगको अध्ययन गर्दा अधिकांश बुँदाहरु उस्तै देखियो।

भक्तपुर क्यान्सर अस्पतालले निश्चित सप्लायर्स कम्पनीलाई मात्रै मिल्ने गरी स्पेसिफिकेसन बनाएर दुईवटा टेण्डर प्रक्रिया अगाडि बढाएको विषयमा उकेराले ६ दिन अघि समाचार सम्प्रेषण गरिसकेको छ। 

करिब दुई करोड ४७ लाख ६० हजारको फोहोर व्यवस्थापन सम्बन्धी मेसिन र करिब ५० लाख ८० हजारमा खरिद गर्नेगरी इन्डोस्कोपी सिस्टमको टेण्डरमा पनि अस्पताल प्रशासनले निश्चित सप्लायर्स कम्पनीसँग मात्रै मिल्ने गरी स्पेसिफिकेसन बनाएर सेटिङमा मेसिन खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाएको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको छ। 
 

वैशाख २५, २०८२ बिहीबार २१:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।