महामारीमा प्रयोग हुने प्रविधियुक्त प्रयोगशालाको उद्घाटन

महामारीमा प्रयोग हुने प्रविधियुक्त प्रयोगशालाको उद्घाटन

काठमाडौं : संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्न प्रयोग गरिने प्रविधियुक्त प्रयोगशालाको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उद्घाटन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ल्याब एकाइको उद्घाटन गर्दै नेपाललाई प्रयोगशालागत परीक्षणमा आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालय गम्भीरताका साथ लागिरहेको बताए।

मन्त्री पौडेलले यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रूपमा विकास गर्नु आवश्यक रहेको उल्लेख गर्दै सरकारले यसको सबलीकरणमा निरन्तर काम गरिरहेको जानकारी दिए। ‘कोरोना महामारीले हामीलाई स्पष्ट सन्देश दिएको छ कि, आधुनिक ल्याब पूर्वाधार हाम्रै देशमा हुन जरुरी छ,’ उनले भने, ‘यसका लागि मन्त्रालयको सहयोग निरन्तर रहनेछ।’

उनले सहयोगी दाता निकायहरूलाई प्रयोगशालाको स्तरोन्नतिमा हातेमालो गर्न आह्वान गर्दै क्यान्सरसहितका केही जटिल परीक्षण नेपालमै सम्भव बनाउने व्यवस्था मिलाइएको पनि जानकारी गराए। मन्त्री पौडेलका अनुसार केही सरकारी अस्पतालमा नभएका परीक्षण पनि अब सुपथ मूल्यमा यस ल्याबमार्फत उपलब्ध हुनेछन्।

करिब ४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो ल्याब नेपालमै पहिलोपटक निर्माण गरिएको हो। प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टका अनुसार यस ल्याबको निर्माणले देशको महामारी व्यवस्थापन क्षमतालाई उल्लेखनीय रूपमा सुदृढ बनाउने छ।

वैशाख २५, २०८२ बिहीबार २०:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।