शनिबार काठमाडौंमा ‘अनम्याथ म्याथ टक’ हुने

शनिबार काठमाडौंमा ‘अनम्याथ म्याथ टक’ हुने

काठमाडौं : मेन्टर ल्याब नेपाल र एम्बार्क अनम्याथ प्रा.लि.को सहकार्यमा शनिबार पुल्चोकको एम्बार्क कलेजमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रमले गणित सिकाइलाई रोचक, अन्तरक्रियात्मक र वास्तविक जीवनसँग जोडिएको अनुभवमार्फत प्रस्तुत गर्ने उद्देश्य लिएको छ।

कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षक तथा अनम्याथ स्कूलका सह–संस्थापक दिवेश बठीजाले गर्नेछन्। भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरणा दिँदै आएका बठीजाले भने, ‘गणित कण्ठ गर्न होइन, खोज गर्न सिक्नुपर्ने विषय हो। जब विद्यार्थीले गणित आफ्नै जीवन र परिवेशसँग जोड्न थाल्छन्, तब मात्र साँच्चिकै सिकाइ सुरु हुन्छ।’

कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सहभागीले रमाइला खेलहरूमार्फत गणित सिक्ने, बौद्धिक बहसमा भाग लिने र गणितका ऐतिहासिक पक्षबारे रोचक किस्साहरू सुन्ने अवसर पाउनेछन्। 

साथै सहभागीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएका छन्।

वैशाख २५, २०८२ बिहीबार १९:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।