सीमा क्षेत्रमा कडाइ : ४८ घण्टामा ३ सय १२ गस्ती, १८ सय चेक प्वाइन्ट स्थापना

काठमाडौं : भारत र पाकिस्तानबीच हालैको तनावपछि नेपालमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ।
सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीले ४८ घण्टाको अवधिमा ३ सय १२ वटा गस्ती र १ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट स्थापना गरेको छ।
वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबारसम्मको अवधि (४८ घण्टा) मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग मिलेर ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिए।
सुनसरीको बराहदेखि कैलालीको वैद्यनाथसम्मका छ वटा सशस्त्र प्रहरी बाहिनीका मातहत करिब १० हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमामा भइरहेको परम्परागत आवतजावत असहज नहोस् भनेर नेपाल-भारत सिमानामा हुने हिँडडुल सहजीकरण गरिएको छ। त्यस्तै, सम्भावित अवैध गतिविधि रोक्न नेपाल प्रहरी, अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान-प्रदानलाई तीव्र बनाइएको छ।
साथै, सहरी क्षेत्रमा पर्ने सम्भावित संवेदनशील स्थानहरूमा पनि निगरानी बढाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
वैशाख २५, २०८२ बिहीबार १९:३०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।