सामाजिक सञ्जालमा ‘सस्तो सामान’ भन्दै अग्रिम पैसा उठाएर फरार ७ जना पक्राउ

सामाजिक सञ्जालमा ‘सस्तो सामान’ भन्दै अग्रिम पैसा उठाएर फरार ७ जना पक्राउ

धनुषा : सस्तोमा सामान दिने भन्दै अनलाइनबाट प्रलोभन देखाई ठगी गर्ने ७ जनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। उनीहरूले फेसबुकमा फेक अकाउन्ट बनाएर सस्तोमा सामान दिने भन्दै मान्छेहरूलाई विश्वास दिलाएर अग्रिम पैसा लिन्थे र त्यसपछि सम्पर्कविहीन हुन्थे। 

धनुषाका एसपी नरहरि रेग्मीका अनुसार, उनीहरूले हालसम्म २ करोड ६३ लाख रुपैयाँ भन्दा बढी ठगी गरिसकेका छन्।प्रहरीले उनीहरूको साथबाट १० वटा मोबाइल बरामद गरेको छ। ती मोबाइल प्रयोग गरेर उनीहरूले १८७ वटा बैंक र वालेट खाताहरू खोलेका थिए।

प्रहरीले २१ वटा फेक अकाउन्ट र पेज पनि फेला पारेको छ। उनीहरूमाथि कारबाही अघि बढाइएको छ। 

पक्राउ पर्नेहरू १९ देखि २३ वर्ष उमेरका छन्। तीमध्ये कोही धनुषाका हुन्, कोही सर्लाही र महोत्तरीका। पक्राउ पर्नेमा धनुषाका २३ वर्षीय सुरज साह, सर्लाहीका २२ वर्षीय नितेशकुमार साह, गौशालाका २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिकाका २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा छन्। 

प्रहरीले अनलाइनबाट किनमेल गर्दा सतर्क हुन सबैलाई आग्रह गरेको छ। 

वैशाख २५, २०८२ बिहीबार १७:३९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।