प्रहरी महानिरिक्षक थापाको निर्देशनमा पक्राउ परेका थिए रेशम

प्रहरी महानिरिक्षक थापाको निर्देशनमा पक्राउ परेका थिए रेशम

काठमाडौँ : प्रहरी महानिरिक्षक दीपक थापाको निर्देशनमा  सर्वोच्च अदालतको नक्कली पत्रको आधारमा रेशम चौधरी पक्राउ परेर जेल चलान भएको खुलेको छ। गृहमन्त्री रमेश लेखकले प्रतिनिधी सभाको बैठकमा यो खुलाएका हुन्।

चौधरी पक्राउबारे  जानकारी दिन सांसदहरुले माग गरेपछि प्रतिनिधी सभाको बैठकमा बिहीबार बोल्दै उनले सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले सर्वोच्चको पत्र बोकेर प्रहरी महानिरिक्षक थापालाई भेटेको र सर्वोच्चको फैसला कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीको भएकाले थापाले सो पत्रको कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिएको गृहमन्त्री लेखकले बताए।

असम्बन्धि ब्यक्तिको फैसलालाई उदृत गरिएको पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागारमा चलान गरेपछि निकै हल्लीखल्ली भएको थियो। सर्वोच्चको पत्रको आधारमा पक्राउ परेर जेल चलान भएको खुलेपछि सर्वाेच्चले सो पत्र नक्कली भएको भन्दै चौधरीलाई कारागार मुक्त गर्न पत्र पठाएको थियो।

सर्वोच्चको अर्को पत्रपछि चौधरी त्यही दिन कारागार मुक्त भए। झूटो पत्र लेखेको लगायतको आरोपमा अनुसन्धानका लागि विष्ट पक्राउ परे।
 

वैशाख २५, २०८२ बिहीबार १७:२०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।