सम्झौताको लागि तयार रहन भन्दै प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी-अन्देखा गरे बढारिनुपर्छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि शुरू हुने आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरे।
बिहीबार राजावादी शक्तिहरूले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ देखि शुरू हुने आन्दोलन देशको लागि भएको उल्लेख गर्दै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताका लागि तयार रहन आग्रह गरे।
उनले भने, ‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो। अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं। अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस्। समय छ, सम्झौताको लागि तयारी गर्नुहोस्।’
उनले सबै पक्ष समेट्ने मौलिक व्यवस्था निर्माण गरी देशलाई निकास दिनुपर्ने र यसलाई अन्देखा गरी दमनको बाटो रोजिएमा 'बढारिनुपर्ने परिस्थिति' आउन सक्ने चेतावनी दिए।
‘नयाँ सम्झौता गरेर अगाडि जानुपर्यो। जहाँ राजादेखि सबै अटाउने व्यवस्था निर्माण गरौं, कसैले देशमा आफू निषेधित भएको महसुस गर्न नपरोस्। सबै अटाउने मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव गरेको हौं,’ उनले थपे, ‘तर यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउन सक्छ। प्रारम्भदेखि आग्रह छ, बढार्न नपरोस्। अब बल कोर्टमा छ। अरु कुनै दमनको जालझेलको सहारा लिएर होइन। फेरी पनि भन्छु, समझदारीमा आउनुस्।’
वैशाख २५, २०८२ बिहीबार १६:४१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।