जेठ १५ बाट राजावादीले अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा

जेठ १५ बाट राजावादीले अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा

काठमाडौं : राजसंस्था पुनर्स्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो।

तीनवटा मुख्य माग अघि सार्दै समितिले शान्तिपूर्ण ढंगले आन्दोलन अघि बढाउने बतायो। परिवर्तनकारी र परम्परागत शक्तिबीच समन्वय गर्दै राजसंस्था अटाउने नयाँ समझदारी निर्माण, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता कायम हुने हिन्दु राष्ट्र पुनःस्थापना र बलियो स्थानीय सरकारको सुनिश्चितताको मागहरूलाई आन्दोलनको आधार बनाइने कार्यक्रममा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक सुवेदीले भने,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। सत्याग्रह र भद्र अवज्ञामार्फत राजा र जनताबीच षड्यन्त्रपूर्वक टुटाइएको सम्बन्धलाई पुनः जोड्ने प्रयास हुनेछ।’

जनताको सार्वभौम सत्ता र निर्णायक भूमिका सुदृढ गर्न आन्दोलनको उद्देश्य रहेको समितिको विज्ञप्तिमा उल्लेख छ। परिवर्तनकारी शक्तिहरूसँग संविधानको दायराभित्रै रहेर संवाद गर्न समिति तयार रहेको सुवेदीले दाबी गरे।

यो आन्दोलनमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजनीतिक दल र सामाजिक समूहहरूले ऐक्यबद्धता जनाएका छन्।

वैशाख २५, २०८२ बिहीबार १४:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।